उम्मेदवारहरूमाथि भएका आक्रमणप्रति अमेरिकाद्वारा चिन्ता व्यक्त


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

उम्मेदवारहरूमाथि भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । साथै उनले हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई हामी शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गर्दछौं ।’

नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न सबैलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन राजनीतिक बहसको समय भए तापनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गरिन्छ ।’

साथै सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न पनि आग्रह गरेको छ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थनप्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नप्रति अमेरिका प्रतिबद्ध रहेको दूताबासले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com