बालगृह सञ्चालकबाटै बालिका बलात्कृत


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

पुर्बी चितवनको  रत्ननगरमा सञ्चालित बालगृहका सञ्चालकले  बालिकालाई जबर्जस्ती करणी गरेको रहस्य खुलेको छ । सुर्खेत जिल्ला घर भएकी बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहितको उजुरी दिएपछि घटना बाहिर आएको हो ।
 
रत्ननगर–१ भक्तिनीबगैँचामा बिनादर्ता सञ्चालित सो बालगृहका सञ्चालक ६१ वर्षीय गोविन्द ढकालले १२ वर्षीया ती बालिकालाई जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
 
सञ्चालक ढकालले ती बालिकालाई ०७३ वैशाखदेखि ०७४ भदौसम्म पटकपटक करणी गर्दै आएको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन् । पाँच वर्षदेखि सो बालगृहमा बस्दै आएकी ती बालिका सञ्चालक ढकालको अत्याचार सहन नसकेर गत भदौ महिनामा आफ्नै घर सुर्खेत गएकी थिइन् ।
 
बालिकाले आमालाई घटनाबारे जानकारी गराएपछि आफन्तहरुले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा परीक्षण गरी आमाले कार्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् ।
 
किटानी जाहेरी दिएको एकघण्टा नबित्दै इलाका प्रहरी कार्यालय रत्ननगरले अभियुक्त ढकाललाई पक्राउ गरेको थियो । ढकाललाई कार्तिक २७ गते म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको इलाका प्ररही कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० वासुदेव खतिवडाले जानकारी दिए ।
अभियुक्त ढकाल सेवा निवृत्त शिक्षक हुन् । घटना पुष्टि भए अभियुक्त ढकाललाई अधिकतम १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । प्रहरीमा किटानी जाहेरी परेपछि ती बालिकालाई थप अनुसन्धानको लागि चितवन ल्याइएको प्रहरीले जनाएको छ ।
 
सो बालगृहमा बालिका बलात्कृत भएको रहस्य बाहिर आएपछि त्यहाँ रहेका अन्य तीन जना बालिकालाई बुधबार उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र महिला तथा बालबालिका कार्यालय भरतपुरले जनप्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा बलिकाहरुको उद्धार गरेको हो ।
 
रत्ननगर १ का वडा सदस्य शालिकराम पराजुलीको पहलमा गृहमा रहेका तीनजना बालिकाको सुरक्षाको लागि उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा हरिबाबु ढकाल, महिला तथा बालबालिका कार्यालयकी सहायक महिला विकास निरीक्षक निमा खड्का, बाल संरक्षण व्यक्ति मिठु आचार्य, वडा नं १ वडाध्यक्ष शंकरसिंह तामाङ, वडा सदस्यहरु शालिकराम पराजुली र बाबुराम गौतमलगायतको टोलीले बालिकाको उद्धार गरेको थियो ।
 
उद्धार गरिएका बालिकाहरुलाई केही दिन भरतपुरमा राखिने र प्रमुख जिल्ला अधिकारीसहितको सरोवारवालाहरुसँग छलफल गरी उपयुक्त ठाउँमा पठाइने जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा हरिबाबु ढकालले जानकारी दिए । अभियुक्त ढकालले क्रिस्चियन धर्मका नाममा बजेट ल्याएर बाहिरी जिल्लाबाट बालिका ल्याइ पाल्ने गरेको पाइएको नायब सुब्बा ढकालले बताए ।
‘बालगृह दर्ता पनि छैन’ उनले भने– ‘नाम पनि राखेको रहेनछ । यो बालगृह पूर्ण रुपमा अबैध रुपमा सञ्चालित छ ।’ उनले भने– ‘अभियुक्त ढकालले कानुन मिचेर बालिका राखेको पाइयो । अभियुक्त ढकाल पटकपटक जिल्ला प्रशासन कार्यालयमा बालगृह दर्ता गर्न जाने गरेको नायब् सुब्बा ढकालले बताए ।
 
अभियुक्त ढकालले जुटपानीमा रहेको मारानाथ बालगृहको नवीकरण र विधान संशोधनको लागि जिल्ला प्रशासन कार्यालय धाउने गरेको नायब सुब्बा ढकालले बताए । ‘नयाँ बालगृह दर्ता र पुरानो नवीकरण गर्न हामीले रोकेका हौँ’ उनले भने– ‘अहिले तिनै व्यक्तिबाट यस्तो घटना भएको रहस्य बाहिर आयो ।’
 
अभियुक्त ढकालले क्रिस्चियन धर्मको नाममा नेपाली बालिकाहरुलाई बम्बई पठाउने र बम्बईका बालिकाहरुलाई नेपाल ल्याउने कार्यमा समेत संलग्न रहेको आशंका गरिएको छ । क्रिस्चियन धर्मको नाममा विदेशबाट आउने पैसा कुम्ल्याउन अभियुक्त ढकालले अवैधरुपमा बालगृह सञ्चालन गर्दै आएका थिए ।
 
चितवनको पहाडी क्षेत्रसहित सुर्खेत, हैटौँडा र आछामबाट बालबालिका ल्याएर अभियुक्त ढकालले बालगृहमा राख्ने गरेको नायब सुब्बा ढकालले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com