महिलाका मुद्दा लिएर भोट माग्दै पूर्व प्रधानमन्त्री नेपाल


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

म रक्षा मन्त्री हुँदा सेनामा महिला प्रवेश गराएको होे–पूर्व प्रम नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेपालको राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण व्यक्तित्व हुन् । वि.स २०६६ सालमा प्रधानमन्त्रीसमेत भइसक्नु भएका उहाँ नेकपा एमालेको पार्टी नेतृत्व मन्त्री र सांसदहरु पटक पटक भइसकेका छन् । अहिले काठमाडौं जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार बन्नुभएका नेपालसँग महिला खबरका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानी । 

चुनाव तयारीका क्रममा त्यसमा तपाईंको प्राथमिकताका मुद्दा के के हुन् ?

पूर्वाधार विकास, परिवर्तन, पानीको सहजता, पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धन जसले रोजगारी बढाउँछ । महिला हिंसामुक्त घर, परिवार र समाजसँग महिलालाई आत्मनिर्भर बनाउनका लागि मेरो प्रयास हुँदै आएको थियो, अहिले र भविष्यमा पनि प्राथमिकतामा पर्छन् ।

पार्टीको नेतृत्वका साथै मन्त्रीदेखि प्रधानमन्त्री पनि भइसक्नु भयो, त्यो जिम्मेवारीका बेला महिलाका लागि के गर्नुभयो ?

देशभरि महिला हिंसाका घटना भइरहेको देख्थें सुन्थें । त्यसले गर्दा प्रधानमन्त्री कार्यालयले नै महिला हिंसाविरुद्ध काम गरे मात्र सबैले निकायले गर्छन् भनेर प्रधानमन्त्री कार्यालयमै महिला हिंसाविरुद्ध काम गर्ने भनेर छुट्टै इकाइलाई क्रियाशिल बनाए । डाइरेक्ट त्यहीं फोन गर्ने र कस्तो घटना हो तत्काल पीडितलाई न्याय दिने र पीडकलाई कारबाहीका लागि पहल गर्न सिडियो र प्रहरी अधिकारीहरुलाई आफैं फोन गर्थें । कति कस्ता कस्ता घटना आउँछन् भनेर छुट्टै हेर्थे र त्यहाँ कार्यरत कर्मचारीहरुसँग बस्थें । जुन त्यसपछि त्यो रुपमा अघि बढेको छैन भन्ने लागेको छ । महिला हिंसा विरुद्ध शुण्य सहिष्णुताको नीति अपनाउनुपर्छ भनेर लागें । नेपाली सेनामा महिलाको प्रवेश म रक्षा मन्त्री भएको बेला भएको हो । पीडित महिलाहरुका लागि १४ वटा जिल्लामा महिला सुरक्षा गृह स्थापना गर्न पहल भयो । गर्भवती र साना बच्चाको स्वास्थ्का लागि सुनौलो हजार दिन परियोजना अघि बढाएँ ।

सेनामा महिलाको प्रवेशका लागि कसरी पहल गर्नुभयो ?

यो सन्दर्भ थोरै रमाइलो पनि छ । नेपाली सेनाले नै गरेको एउटा सांस्कृतिक कार्यक्रम रहेछ । रक्षा मन्त्री भएको हुनाले मलाई बोलाइएको थियो । समूहगत सांगितीक प्रस्तुती भइरहेको थियो । महिला कलाकारको पोशाक लगाएर जो नाचिरहेका थिए, तिनिहरु महिला होइनन् कि जस्तो लाग्यो र पुरुष कलाकारलाई महिला बनाइएको हो कि भनेर सोधें । वास्तवमा त्यही हो रहेछ । किनकी नेपाली सेनाको अरु सेवामा भए पनि कम्ब्याक्ट (सैनिकको रुपमा) महिला प्रवेश गर्नै नपाउने व्यवस्था रहेछ । यसले गम्भीर पनि बनायो, के महिलाहरु सैनिक भएर काम गर्न सक्दैनन् त ? नसके पनि बाटो भने खुला गर्नुपर्छ । आवेदन पर्छ पर्दैन हेरौं भनेर तत्कालीन प्रधानसेनापतिलाई भनें । त्यसपछि शुरु भएको हो ।
त्यति मात्र होइन त्यो बेलासम्म तामाङ जातिबाट जानेलाई पिपा गोश्वारामा मात्र काम लगाईंदो रहेछ । उनीहरु पनि सैनिक जवान भएर काम गर्न सक्छन् भनेर बाटो खोल्ने काम मैंले नै गरेको हो ।

मन्त्री र प्रधानमन्त्रीको जिम्मेवारबाट बाहिर भए पछि चाहिं के के गर्नुभयो ?

गरिरहेको छु । मेरो जन्म जिल्ला रौतहटको गौरमा र सर्लाहीको मलंगवामा दुई वटा नर्सिङ कलेज स्थापना गर्न सक्दो पहल गरें । जसले दलित, मधेसी, विपन्नका छोरीहरुलाई नर्सिङ पढ्ने वातावरण भएको छ । काठमाडौं मेरो निर्वाचन क्षेत्रमा पनि महिलाहरुको सीप, उद्यमलाई प्रोत्साहित गरेको छु । भूकम्प गएको बेला प्रभावितहरुको दुर्गम बस्तीसम्म पुग्दा महिला, बालबालिकालाई राहत पु¥याएको छु ।

अहिलेको चुनावमा चाहिं तपाईंले जित्नुभयो भने तपाईंको क्षेत्रका महिलाका लागि विशेष के हुन्छ ?

यो निर्वाचन क्षेत्रका विकट क्षेत्र पनि छन्, त्यहाँ विकास गर्ने, सडक बाटो पुग्यो भने महिला-बालबालिकालाई अझ सहज हुन्छ । शिक्षा र स्वास्थ्यमा सहज पहुँचका लागि पहल गर्छु । महिलाहरुले गर्दै आएको सीपको विकास र प्रवद्र्धन, हस्तकला क्षेत्रमा महिलाहरु बढिरहेका छन्, त्यसको प्रवद्र्धनका लागि उहाँहरु के चाहनुहुन्छ । त्यसअनुसार काम गर्छु । यहींका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दा महिलाहरुले रोजगारी पाउँछन् । काठमाडौं भए पनि महिला हिंसाविरुद्ध सचेतना अथवा के आवश्यक पर्छ, त्यो गर्छु । किनकी घरबाट महिला हिंसा अन्त्य भए मात्र घर, टोल, समाज देशमा शान्ति हुन्छ । महिलाको सम्मान र कदर गर्ने बानी बसाल्नुपर्छ । समग्रमा महिलालाई आत्मसम्मानका साथ बाँच्न पाउने र सुरक्षित तथा स्वतन्त्रपूर्वक हिंड्न पाउने अवस्थामा ल्याउन मेरो विशेष जोड रहनेछ । महिलाहरु अघि बढे मात्र घर अघि बढ्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

अन्तमा ?

म काठमाडौंमा ३४ वर्षदेखि बसिरहेको छु । रौतहट जन्मघर । त्यति मात्र नभई मैले राष्ट्रिय राजनीतिलाई पनि हेर्नुपर्छ । त्यसैले कहिले रौतहटका बासिन्दाको प्रतिनिधि बन्छु कहिले काठमाडौंका बासिन्दाको प्रतिनिधि बन्छु । देशका राजनीति र पार्टीको जिम्मेवारी अनुसार चल्नुपर्छ । त्यसैअनुसार अहिले काठमाडौं २ मा उम्मेदवार भएँ ।

-महिला खबर संवाद-  

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com