उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

चितवन, २८ कात्तिक । रोल्पा, रुकुमलगायत जिल्लामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवन–३ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेलगायत उम्मेदवार हुनुहुन्छ । चितवन क्षेत्र नं २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी तथा क्षेत्र नं १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे पनि उम्मेदवार हुनुहुन्छ । नेकपा(एमाले)का जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ पनि उम्मेदवार हुनुहुन्छ ।

पूर्वमन्त्री, मन्त्री र पार्टीका अध्यक्ष नै उम्मेदवार भएपछि जिल्लाको सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सामान्य अवस्थामा रहेको चितवनमा पछिल्ला दिनमा सुरक्षा चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राज्यमन्त्री र पूर्वमन्त्रीले पाउने सुरक्षा व्यवस्थाका अतिरिक्त थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा सुरक्षा चुनौती महसूस गरिएको छ भन्दै उहाँले पूर्वप्रधानमन्त्री दाहालको घरदैलो कार्यक्रमको समयपूर्व नै त्यस क्षेत्रको अध्ययन गरी सुरक्षा व्यवस्था मिलाउने गरिएको छ । भीडभाड बढी हुने र कुनै पनि किसिमको घुसपैठ हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । चुनाव प्रचारप्रसार कार्यक्रम जुध्न नदिनका लागि पूर्वतयारी गरिएको पनि छ ।

प्रजिअ नारायणप्रसाद भट्टले जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा, अन्तरपार्टी कलह, अस्वस्थ प्रतिस्पर्धा, पार्टीगत वैमनस्यता, गुण्डाको प्रयोगलगायत विषय चुनौतीका रुपमा देखापरेको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, भारतीय सीमा क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जलगायत वन क्षेत्रलाई पनि सुरक्षा चुनौतीका रुपमा लिइएको जनाइएको छ ।

पहिलो चरण निर्वाचन सकेर अन्य जिल्लाबाट मानिस आउन सक्ने भएकाले त्यसका विषयमा पनि जिल्ला सुरक्षा समिति चनाखो रहेको छ । कहीँ कतै पनि सुरक्षा कमजोरी हुन नदिन आवश्यक सबै तयारी गरिएको प्रजिअ भट्टले बताउनुभयो ।

जिल्लाका होटल तथा रेस्टुराँमा आउने व्यक्तिको निगरानी राखिएको छ । कुन होटलमा के कति मानिस बसेका छन्, उनीहरुको नियमित रेकर्ड राख्ने गरिएको छ । जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र जिल्लाको प्रहरीको टोलीले सुष्म रुपमा अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिनुभयो ।

जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीच घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुनेछन् ।

जिल्लामा १६१ मतदानस्थल कायम गरिएको छ । तीमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाका ४०८ मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ नेपाल प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म नेपाल प्रहरी र आवश्यकतानुसार म्यादी प्रहरी परिचालन गरिने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोलीसमेत परिचालन गरिने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com