देशनिकालाको प्रकृयामा रहेका बाल्टिमोर निवासी नेपाली मेयर अफिसबाट लाभान्वित हुनसक्ने
प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

देशनिकालाको प्रकृयामा रहेका अमेरिकाको बाल्टिमोर निवासी सबैले त्यहाँको मेयर अफिसबाट कानुनी सहायता पाउने भएका छन् । जसबाट बाल्टिमोर निवासी कैयन नेपालीहरुसमेत लाभान्वित हुन सक्ने भएका छन् । बाल्टिमोरकी मेयर क्याथरिन पुगले देशनिकालाको सुनुवाईको सामना गरिरहेका बाल्टिमोर निवासीहरुलाई आफूहरुले गर्दै आएको कानुनी सहायतामा बृद्धि गर्ने घोषणा गरेकी छिन् ।
ओपन सोसाइटी इन्स्टीच्युटसँगै यो बर्षको सुरुवातमा प्रारम्भ गरिएको सुरक्षित सिटी बाल्टिमोर अभियान अन्तरगत मेयर कार्यालयले आप्रवासीलाई कानुनी सहायता बढाउने घोषणा गरेको हो । बाल्टिमोर सिटीलाई सुरक्षित र संरक्षित बनाउने योजना अनुरुप यस्तो घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।
बाल्टिमोर सिटीले देशनिकालाको सामना गरिरहेकाहरुलाई कानुनी सेवा प्रदान गर्नेहरुलाई भेरा इन्स्टीच्युट अफ जस्टिसमार्फत आर्थिक सहयोग समेत उपलब्ध गराउने भएको छ ।