प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

२६ कात्तिक, काठमाडौं । आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् । काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए ।

झण्डै पौने घन्टा लामो कुराकानीका क्रममा सिंह चुनाव जित्नेमा निकै दृढ देखिए । उनी पटक-पटक भन्थे, म त तथ्यांककै विद्यार्थी पनि हुँ, तथ्यांकको कुरा पनि गरौं । पहिलो संविधानसभामा कांग्रेसका लागि समग्रमा स्थिति राम्रो नहुँदा पनि मैले जितेको थिएँ । दोस्रोपटक झन धेरै मत पाएँ । खसेको सदरमध्ये ५२.३ प्रतिशत मैले पाएको छु ।’

धेरैले विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्र उम्मेदवार भएकाले काठमाडौं १ मा सिंहलाई सकस रहेको मान्छन् । वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा साझा उम्मेदवार छन् । तथापि धेरैले प्रकाशमान र रविन्द्र मिश्रको प्रतिस्पर्धा हुने ठानेका छन् ।

कांग्रेस नेता सिंह भने चुनावी दौडमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्छन् । आफ्नो जित पक्का रहेको भन्दै उनले भने, दोस्रो को हुने ? मिश्र र शर्मालाई नै सोध्नुस् ।

प्रस्तुत छ, काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहसँग अनलाइनखबरले गरेको कुराकानीः

यो पटकचाहिँ अलि बढी दबाव महसुस गर्नुभएको हो ?

मैले दुईपटक (०४८/०५१) चुनाव हारेँ । त्यसपछि संविधानसभाका दुबै चुनाव जितेँ । तर, पहिलो संविधानसभामा जस्तो दबाव मैले राजनीतिक जीवनमा कहिल्यै महसुस गरिनँ । कारण के भन्दा ०४६ मा बहुदलीय व्यवस्था आयो । त्यसपछि दुईवटा चुनाव लडंे, दुबैमा हारेँ । एकपटक वाममोर्चाका उम्मेदवार र दोस्रोपटक प्रस्तावित प्रधानमन्त्री मनमोहन अधिकारीसँग हारेँ । पार्टीको कुनै पनि चुनावमा नहारेको म जनताबाट अनुमोदन हुनै नसकेकाले मलाई के हो, के हो भन्ने थियो ।

भनेपछि, अहिलेचाहिँ तपाईलाई डर छैन ?

अहिले त मलाई कुनै दबाव छैन । अरु त भर्खर चुनावी मैदानमा आएर देखिएकाहरु छन् । म त त्यहाँबाट दुईपटक निर्वाचित भइसकेको व्यक्ति हुँ । सुरुदेखि नै ग्रुमिङ भएको छु, मेरो बनिबनाउ क्षेत्र हो ।

उसोभए पूरै इन्जोय गरिरहनुभएको छ ?

हो, इन्जोय गरिरहेको छु । मेरो क्षेत्रमा जानुस्, सांसद भनेको त यस्तो पो हुनुपर्छ भन्छन् । प्रायः सबैसँग मेरो अन्तक्रिर्या हुन्छ । मेरो बानी नै छ कि बोलाएका सबै ठाउँमा जान्छु, सकेको सहयोग गर्छु ।

मतदातासँग मेरो विशेष सम्बन्ध छ । चुनावको समयमा आएर फेसबुकमा लेखेर, समाचार लेखाएर होला भन्नेहरुलाई त्यही संसारमा रमाउन दिउँ । तर, राजनीति भनेको रत्नपार्कमा चटक देखाएजस्तो होइन ।

तर, तपाईले जुन दिनबाट चुनावी अभियान सुरु गर्नुभयो, त्यस दिनदेखि नै प्रतिस्पर्धी वाम र विवकेशील साझाप्रति बढी नै आक्रामक देखिनुभएको छ नि ?

म सैद्धान्तिकरुपमै वाम भन्दा पनि साम्यवादी गठबन्धनको विपक्षमा छु । तपाईहरु नै भन्नुहुन्छ, तिम्रो बाबु गणेशमानजीले ०४६ मा कम्युनिष्टलाई साथमा लिएर आन्दोलन गर्नुभयो, आज आएर विरोध गर्न मिल्छ ?

म भन्छु, सैद्धान्तिक भेद बुझ्नुस् । हामी त्यो वामलाई मान्छौं, जो लेफ्ट अफ सेन्टर हुन्छन् । तर, कम्युनिज्म सिद्धान्त बोक्नेलाई मान्दैनौं । ०१८ सालपछि चिराचिरा भएका वामपन्थीहरुको वाम मोर्चा बनाउने विचारको विजारोपण ०४६ मा गणेशमानजीले गर्नुभएको थियो । उहाँहरुले बहुदलीय प्रजातन्त्रमा विश्वास गर्छौं भनेपछि हामीले सहकार्य गर्‍यौं ।

अहिले परिस्थिति फरक छ, उनीहरुले सार्वजनिक रुपमै हामीलाई भोट दिनुस्, १० वर्षभित्र साम्यवाद ल्याउँछौं भनेका छन् ।

तर, वाम गठबन्धनको घोषणापत्रमा न उनीहरुले तपाईले भनेजस्तो लोकतन्त्र मान्दैनौं भनेका छन्, न त साम्यवाद/अधिनायकवाद नै ल्याउँछौं भनेका छन् । बरु विगतलाई हेर्दा कांग्रेसले लोकतन्त्रमाथि घात गर्छ कि भनेर प्रश्न उल्टो उठाएकाछन् नि ?

यो कुरा त कस्तो हो भन्दा घोषणा गर्ने तर, बाचा पूरा नगर्ने बानी कम्युनिष्टहरुको छ ।

उसोभए तपाईहरु किन आत्तिएको त ?

उहाँहरुले १० वर्षमा कम्युनिज्म ल्याउँछौं भन्ने घोषणा चियागफमा भनेको हो र ? अहिले त रियाक्सन देख्नुभयो र तर्सिनुभयो । उहाँहरुको के कुरा गर्ने ! भोट माग्ने बेलामा माक्र्स, लेनिनको फोटो देखाउने, विदेशी राजदूत आउँदा झिक्नेहरुसँग कांग्रेसको तुलना गरेर हुन्छ ? यो नाटक त पटक-पटक भइसकेको छ । के ‘लाटा’ छन् र नेपालीहरु पत्याउन ?

अनि विवेकशील साझा पार्टी नि ?

मलाई त खुसी लाग्छ ! बहुदलीय शासन व्यवस्थाको वकालत गर्ने पार्टी आउँदा हामीलाई त खुसी लाग्छ । आक्रमण भयो, के भयो भनेर आफैंले समाचार बनाउने आफ्नो ठाउँमा होला । तर, मलाई केही छैन ।

तर, चुनावी प्रतिस्पर्धी रविन्द्र मिश्रतर्फ संकेत गर्दै राजतन्त्रको पक्षमा कमल चोप्नेहरु, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाटै निस्किन्न भन्नेको छोरा भन्नुभयो । यसरी बाबुलाई लिएर गालीगलौज गर्न सुहाउँछ ?

अरे बाबा ! चुनावको टाइममा सुन्नेहरुलाई पनि त मसला त दिनैपर्‍यो नि । तपाईले उठाएको कुरा मैले बानेश्वरको एउटा कार्यक्रममा भनेँ । म पनि लिखित भाषण गर्ने मान्छे होइन, क्राउड हेर्छु र त्यहाँ के बोल्दा हुन्छ भन्छु ।

तर, तपाईजस्तो शीर्षनेताले उम्मेदवारका बाबुआमालाई लिएर गाली गरेको त अलि सुहाउँदैन नि ?

होइन, होइन । चुनावी भाषणमा कहिलेकाँही त दिनुपर्ने हुन्छ नि त । मैले फेरि त्यस्तै भनेको पनि होइन, फ्याक्ट चेक गर्नुस् ।

भनेर ठीकै गरियो ?

भएको कुरा भन्नलाई के ? यहाँ कांग्रेस र प्रकाशमान सिंहले केही बोल्नुहुँदैन भन्ने छ र ? मैले केही बोल्नुहुँदैन, बोल्यो कि तिललाई पहाड बनाउँछ ।

होइन, चुनावी प्रतिस्पर्धा व्यक्तिगत गालीगलौजमा होइन, विचार र एजेण्डामा होस् पो भनेको त ?

व्यक्तिगत लान्छना मैले कहाँ लगाएको छ र ? उम्मेदवारहरु यस्ता छन्, फ्याक्टलाई मूल्यांकन गर्नुस् । मतदाताहरुलाई आफूले जानेको कुरा त भन्नैपर्‍यो । मेरो राजनीतिक जीवन हेर्नुस्, कसैलाई त्यस्तो भनेको छैन । फ्याट कुराहरु कहिलेकाँही भनेको हो, त्यो पनि नर्मल भाषामा भनेको हो ।

चुनावी प्रतिस्पर्धामा रविन्द्र मिश्रलाई कसरी लिनुभएको छ ?

उहाँ मैदानमा प्लेयर हो । रंगशालामा दर्शकले यसो हेर्दा म्याच चलिरहेको छ, खेलिरहेको छ भन्ने हो । राम्रो छ कि छैन भन्ने त मतदाताले छान्छन् ।

उहाँँ पूर्वपत्रकार पनि हो । यसअघि कहिल्यै साक्षात्कार भएको थियो ?

मैले व्यक्तिगत रुपमा भेटेको छैन । म मिडिया म्यानसँग दुरीमै बस्ने मानिस हुँ । पार्टीको महाधिवेशनमा म महामन्त्री जित्छु भनेर कसैले भनेकै थिएनन् तर, जितेँ । कमल चोप्नेहरुको माइन्ड र ग्राउण्ड रियालिटी फरक हुन्छ ।

अहिले चुनावमा पत्रकारहरुले रविन्द्र मिश्रलाई फेबर गरे भन्न खोज्नुभएको हो ?

पत्रकारले निश्पक्ष रुपमा प्रस्तुत गर्नुपर्नेमा तपाईहरुको कम्युनिटीकै सदस्य उम्मेदवार भएकाले उहाँँलाई अझ ‘हिरोफाइ’ गर्न खोजेको हो कि ? यसो हुँदा पनि मलाई कुनै आपत्ति छैन । तर, ग्राउण्ड रियालिटी धेरै फरक छ ।

वाम गठबन्धनको सिट बाँडफाँटमा काठमाडौं १ माओवादी केन्द्रको भागमा पर्‍यो लियो, एमालेको उम्मेदवार नहुनु तपाईका लागि केही फरक रहृयो ?

कम्युनिष्ट गठबन्धनको उम्मेदवार त छ नि । एमाले छैन भनेर भन्न मिल्दैन ।

चिन्नुहुन्छ, वाम गठबन्धनको उम्मेदवारलाई ?

जनार्दनको भाइ उठेको छ भन्ने थाहा छ । अरु थाहा छैन ।

यो पटक काठमाडौं १ का मतदाताले तपाईलाई किन जिताउने ?

सांसद भएपछि मैले धेरै काम गरेको छु, यो मतदाताहरुलाई थाहा पनि छ । उदाहरणका लागि मेरो निर्वाचन क्षेत्रमा पर्ने सार्वजनिक स्कुलहरुमा हामीले केही न केही राम्रो काम गरेका छौं । मैले भनेको छु, तपाईहरुले मलाई हैसियत बनाइदिनुभयो र मैले तपाईहरुकै भलाइमा प्रयोग गर्छु ।

दोस्रो पटक संविधानसभा चुनावमा भोट माग्दा कांग्रेस ठूलो पार्टी भयो भने संविधान दिन्छा्रैं भनेका थियौं । हामीले संविधान पनि दियौं । यो काम त कम्युनिष्टहरुले सकेनन् । भन्न त भन्छन् नि, घोषणापत्रमा स्थिरताका लागि हामीलाई भोट दिनुस् भनेका छन् । धेरै पछाडि नजाऔं । पहिलो संविधानसभा चुनावपछि कम्युनिष्टहरुले के गरे ? संविधानसभा त भंग गरे । स्थिरता कसले निम्त्याए ?

भोट माग्दै तपाईले भन्नुभएको थियो, पहिलोपटक जितेपछि मन्त्री र पार्टी महामन्त्री भएँ । दोस्रो पटक जिताएपछि उपप्रधानमन्त्री बनें, अब फेरि जिताउनुभयो भने के हुन्छु थाहा छ होला नि । के भन्न खोज्नुभएको ? आफूलाई ‘भावी प्रधानमन्त्री’ भन्न खोज्नुभएको हो ?

फेरि मेरै मुखबाट भन्न राम्रो हुँदैन हाहाहा… । मैले भनेकै हो, पहिलोपटक जिताउनुभयो, म कांग्रेसजस्तो पार्टीको पहिलो निर्वाचित महामन्त्री बनेँ । संसदीय दलको उपनेता बनेँ । दोस्रोपटक जिताएपछि उपप्रधानमन्त्री भएँ, राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गरेँ ।

मैले भन्ने गरेको छु, अरुलाई जिताएको भए हुनसक्थ्यो र ? यही फरक हो । पार्टी महामन्त्री र उपप्रधानमन्त्री भइसकेँ, सिढी चढ्दा चढ्दा के बाँकी छ बुझ्नुस् भनेकै हो ।

प्रकाशमानले त सिढी चढ्ला । तर, आम जनता र मतदाताका लागि यसबाट के हुन्छ ?

योभन्दा अगाडि त संविधान निर्माणमा धेरै केन्दि्रत भयौं । अब नयाँ संंविधानअनुसार विकासमा केन्दि्रत हुन्छौं । म राजनीतिमा त्यसै लागेको होइन, बुबा गणेशमानजीले दुःख कष्ट सहनुभयो, इज्जत, नाम पाउनुभएको छ । मेरी आमा मंगलादेवीले योगदान दिनुभएको छ । मेरो भित्री इच्छा छ, समृद्धिको अभियानमा केही राम्रो काम गरेर नाम लेखाउन चाहन्छु ।

तर, मानिसहरु त् प्रकाशमानलाई नपुग्दो केही थिएन, गणेशमानको लिगेसी भए पनि उनको जस्तो त्याग र निष्ठा बोकेर हिँड्न सकेनन् भन्छन् नि ?

आलोचकहरुले त भन्लान् (हाँस्दै ..) । तर, मेरो करियरको परीक्षणकालमा दुईपटक चुनाव हारेर पनि लागिरहेँ । अहिले खसेको मतको ५२ प्रतिशत ल्याइसकेँ । ज्ञानेन्द्रले शासन हातमा लिएर शाही आयोग बन्दा कसैले अडान लिन सक्यो ? आफूले गलत गरेको छैन भने गएर बयान दिए हुन्छ भन्थे तर, मैले बयान नदिने अडान छाडिनँ । यो कसैले नखेख्ने !

यहाँ मनोविज्ञान अचम्मको छ, गणेशमान सिंहको परिवारले दुःख गर्नुपर्ने, जेल जानु पर्ने तर, त्यसको आउटकममा सहभागी हुनचाहिँ नहुने ? ०४८ मा आमाछोरा आमाछोरा भने । अहिले कतिका आमा छोरा, कतिको श्रीमान-श्रीमती उठ्दैछन्, त्यसमा केही छैन । हाम्रो परिवारमा भने प्रश्न उठ्ने ?

अन्तिममा भनिदिनुस् न त, तपाईको प्रतिस्पर्धी रविन्द्र मिश्र हो कि अनिल शर्मा ?

मैले त कोही देखेकै छैन । रेस ट्राकमा म पहिल्यैदेखि छु, मलजल गरेको छु । उहाँहरु भर्खर आएर हामी मलजल गर्छौं भन्नुभएको छ । प्रतिपर्धी मैले कोही देखेकै छैन । दोस्रो को हुने ? उहाँहरुलाई नै सोध्नुस् ।

तस्वीरः श्रीधर पाैडेल

Source : Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com