कम्पनीको अनौठो अफर: डेढ लाख दिनुस्, जिन्दगीभर पिउनुस्


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

चीनको एक कम्पनीले मदिरापानका शौखिनहरुका लागि गज्जबको अफर प्रस्तुत गरेको छ । कम्पनीको अफर अनुसार सुरुमा डेढ लाख रुपैयाँ बराबरको रकम बुझाएमा जो कोहीले पनि जिन्दगीभर मनलाग्दी रक्सी पिउन पाउनेछ ।

चीनको मदिरा उत्पादक कम्पनी जिआंगजिआओबाइले मदिरापान गर्ने एकल व्यक्तिका लागि यस्तो अफर ल्याएको हो ।

चीनको सबैभन्दा ठूलो शपिङ उत्सव सिंगल्स डे को अवसरमा नोभेम्बर ११, शनिवारका दिन यो अफरको घोषणा गरिएको छ । कम्पनीका अनुसार यो अफर अलिबाबा कम्पनीका टि मल प्लेटफर्ममा उपलब्ध हुनेछ ।

यो घोषणासँगै कम्पनीले केही शर्त पनि राखेको छ । जस अनुसार यो अफर केवल ९९ जना भाग्यशाली ग्राहकलाई मात्र प्राप्त हुनेछ । पुरस्कार जित्ने ग्राहकलाई हरेक महिना एक कार्टुन रक्सी पठाइनेछ, जसमा रक्सीका १२ वटा बोतल हुनेछन् । अफरमा कुनै गडबडी हुने आशंकाबाट बच्नका लागि कम्पनीले विजेता ग्राहकलाई एक प्रमाणपत्र दिनेछ, ताकि आगामी ३० वर्षसम्म रक्सी पुर्याउने कुरामा कम्पनी चुकेमा पूरै रकम फिर्ता हुनेछ ।

अर्को रोचक कुरा त के भने यदि विजेता ग्राहकको ५ वर्षभित्रमा मृत्यु भएमा उसको परिवारको कुनै पनि सदस्यलाई समेत आजीवन रक्सी उपलब्ध गराइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com