मतदाता शिक्षा कार्यक्रम सुरु


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

कात्तिक २५ निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आउन १५ दिन बाँकी हुँदा शनिबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र मतदान गर्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरेको जनाएको हो ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ । जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन कर्मचारीहरुलाई सक्रिय बनाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला शुरु भएको आयोगको भनाइ छ । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन हुने भएकाले त्यसतर्फ मतदाता शिक्षा दिन गएका कर्मचारीहरुलाई मौसम भने अनुकुल भएको आयोगले जनाएको छ । यसैबीच पाल्पाको तानसेन , रामपुर र ताहुँमा सञ्चालन भएको प्रशिक्षणमा सामाजिक परिचालक र महिला शिक्षक गरी २ सय २६ जनाको सहभागितामा मतदाता शिक्षा सञ्चालन गरिएको हो ।
पाल्पामा गाउँगाउँमा मतदातालाई मतदान गर्ने तरिका सिकाउन नमुना मतदानको अभ्यास समेत गराइएको छ । गत स्थानीय निर्वाचनमा १ दशमलव २१ प्रतिशत मत बदर भएकोमा यस पटकको निर्वाचनमा बदर मत कम हुने अपेक्षा मुख्य निर्वाचनको कार्यालयले गरेको छ । जिल्लाको २ निर्वाचन क्षेत्रमा १ लाख ८१ हजार २ सय ५५ जना मतदाता रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com