‘प्रधानमन्त्रीको भारत भ्रमण सफल’


प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन् । भारत भ्रमणबारे जानकारी दिन महतले एक होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने ‘सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।’

भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै मन्त्री डा महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकिर गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाँले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने बताए ।

लगानीका उपयुक्त वातावरण 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताएका छन्। नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको बताए।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे। उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे। ‘विगतमा भएका अप्ठ्यारा सङ्लदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन,’ प्रधानमन्त्रीले भने, ‘भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ।’

भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com