वापन्थी सरकार बनेपछि १० वर्षमै देश समृद्ध बन्छ ः गौतम


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

बर्दिया, बर्दिया क्षेत्र नं। १ का उम्मेदवार एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। बारबर्दिया नगरपालिकाको जयनगरमा वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गौतमले वामपन्थीको सरकार आएपछि आगामी १० वर्षमै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। देशभित्रै रहेका खानी तथा प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै मुलुकलाई समृद्धितर्फ बढाउन १० वर्षभन्दा बढी समय नलाग्ने उनको जिकिर छ। आगामी पुसमा सरकार बनेपछि योजना अघि बढ्ने उनको भनाइ छ। गौतमले मुलुक समृद्ध बनाउन योग्यता, सीप र क्षमताअनुसार प्रत्येक व्यक्तिलाई रोजगारीको व्यवस्था हुने पनि बताए। ‘विकास र मुलुक समृद्ध बनाउने काममा वामपन्थी सरकार आवश्यक रहेकै कारण अहिलेको वाम गठबन्धन भएको छ,’ उनले भने। सुत्केरी भत्ता र सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार पुर्याइने, स्थानीय तहमै सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने र कृषिमा आधुनिकीकरण गरी उत्पादनलाई बढाउने उनको प्रतिबद्धता छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com