प्रधानमन्त्रीको उम्मेदवार देउवा होइन, रामचन्द्र र म हुँ: शशांक कोइराला


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आए शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । उहाँलाई लाग्दो होला म नै प्रधानमन्त्री बनुँ । तर, हामीले प्रधानमन्त्रीमा परिर्वतन आउनुपर्छ ।’

महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई मात्र होइन, आफैंलाई पनि प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । कोइरालाले भने, ‘रामचन्द्र पौडेल छन्, नेतृत्व लिन ममा के कमी छ र ? क्षमता छ ।’

पौडेलको पक्ष किन लिएको भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीमा हुनुपर्ने सबै गुण उनमा रहेको रहेको बताए । ०४८ मा अघि सारिएको एक व्यक्ति एक अवधारणा स्मरण गर्दै उनले यो अहिले पनि ठीक हुने बताए ।

कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि हालै मात्र सार्वजनिक गरेको घोषणापत्रमा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई पनि प्रस्तुत गरिएको छैन ।

कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । बुधबार चुनावी घरदैलो गर्ने क्रममा सिंहले आफू उपप्रधानमन्त्री भइसकेकाले अब प्रधानमन्त्री हुने काठमाडौं १ का मतदातालाई आश्वासन दिएका छन् ।

‘कांगेस कमजोर भयो, धर्म निरपेक्षतामा जनमत संग्रह’

बीबीसीसँगको अन्तरवार्तामा महामन्त्री कोइरालाले कांग्रेस आफ्नो इतिहासमा अहिले नेतृत्व कमजोर अवस्थामा रहेको स्वीकार गरे । एमाले र माओवादी केन्द्रले साम्यवाद ल्याउँछु भनेको भन्दै महामन्त्री कोइरालाले कम्युनिष्टहरुलाई साइजमा ल्याउनुपर्ने बताए ।

उनले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् । यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाले बताएका छन् ।

राजतन्त्रबारे भने जनमत संग्रह गर्नु नपर्ने कोइरालाले बताए । उनले भने, अब राजतन्त्र फर्काएर केही हुनेवाला छैन ।’

महामन्त्री कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति उठ्ने सोचमा रहेको समेत बताएका छन् ।

Source : Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com