रुपन्देहीमा डेंगु रोगको प्रकोप बढ्दो


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

कात्तिक २१, रूपन्देहीको बुटवलमा असोजको पहिलो सातादेखि डेंगुले महामारीको रूप लिएको छ। तिहारपछि रूपन्देहीमा फाट्टफुट्ट देखिएको डेंगु रोगले महामारीको रूप लिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख केयरसिंह गोदारले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको उपचार नभएकाले यसको टोकाइबाट बच्न आग्रह गरे।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार दैनिक ३० देखि ४० जनामा डेंगुको संक्रमण देखापरेको छ। असोज १५ सम्म २५ जनामा देखिएको डेंगुको संक्रमण सोमबारसम्म ४१० जनामा पुगेको छ। यसबाट दुई जनाको मृत्युसमेत भइसकेको छ। लुम्बिनी अञ्चल अस्पताल बुटवलसहित, बुटवल हस्पिटल प्रालि, तिलोत्तमा हस्पिटल, लुम्बिनी नर्सिङ होम, मेडिटेक हस्पिटल प्रालि, क्रिमसन अस्पताल मणिग्राममा डेंगु रोगीले भरिएका छन्।
बुटवलमा २०६७ सालदेखि डेंगुको संक्रमण देखिएकोमा यसपटक यस क्षेत्रमा सबैभन्दा धेरै डेंगु संक्रमण भेटिएको हो। रोगले महामारीको रूप लिन थालेपछि सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा स्वास्थ्य टोली बुटवल आएको छ।
टोलीले बुटवलको लुम्बिनी अस्पतालसहित विभिन्न सरकारी निकायका व्यक्तिसँग भेट गरी डेंगु रोगले महामारीको रूप लिन थालेकाको बताएका छन् । लामिछानेले डेंगु रोगले ठूलो प्रकोपको रूप लिएकाले यसबाट बच्ने उपायका बारेमा सबै तहबाट सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।
उनले खोज र नष्ट गर अभियान अब प्रत्येक घरघर पुग्ने गरी गर्न जनस्वास्थ्य र स्थानीय तहलाई आग्रह गर्ने बताए। टोलीले तीन दिनसम्म रूपन्देहीमा डेंगुको अवस्थाबारे जाँचबुझ गर्ने बताए। डेंगु लागेका बिरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगरका छन्। बुटवल उपमहानगरका कार्यवाहक प्रमुख गोमा आचार्यले डेंगुको प्रकोप नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै टायरको व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरिन्। उनले डेंगुको समस्या सबैको साझा समस्या भएकाले अन्य संघसंस्थासँग हातेमालो गरेर उपमहानगरले काम गने बताइन्।
बुटवलमा पेलेटलेट्स मेसिन एउटा मात्रै भएको विषयप्रति ध्यानआकर्षण भएको जनाउँदै उपमहानगरले यस विषयमा छलफल गरेर अर्को मेसिन व्यवस्थापन गर्ने उनको भनाइ छ। बिरामीको संख्या बढे पनि आत्तिनुपर्ने अवस्था भने नभएको बताए। पोथी जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण बढ्ने भएकाले यसको बासस्थान खोजी गरी नष्ट गर्नु र त्यसको टोकाइबाट बच्नु नै यो रोगको उपचार भएको गोदारले बताए ।
रगतको अभाव हुन नदिन नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही र अन्य संघसंस्थाले समेत स्वतःस्फूर्त रूपमा रक्तदान गरेका कारण बिरामीलाई रगत आपूर्ति भइरहेको रक्तसञ्चार सेवा केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने बताए। दैनिक ५० देखि ६० युनिट रगत डेंगुका बिरामीलाई खपत भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ। उनका अनुसार कात्तिकदेखि अहिलेसम्म ६५५ युनिट रगतको खपत भएको छ। अरू बेलामा २०० युनिट मात्र खपत हुँदै आएको थियो। प्लेट्लेस मेसिन रक्तसञ्चार कन्द्र बुटवलमा भएकाले उपचारमा सहज भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
दैनिक डेंगुको संक्रमण बढ्दै गएपछि टोलटोलमा सचेतनाका कार्यक्रम सुरु भएका छन्। बुटवलमा रूपन्देहीसहित दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, प्युठान, बागलुङ र रोल्पाका बिरामीहरूको उपचार भइरहेको
उपचारमा संलग्न स्वस्थ्यकर्मीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com