‘अमेरिकनलाई रोजगार’को नारा दिने ट्रम्पको रिसोर्टमा ७० विदेशीले पाए कामदार भिसा
प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

अमेरिकन उत्पादन किन्ने र अमेरिकनलाई नै रोजगार दिने नारा दिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै रिसोर्टमा काम गर्न ७० जना विदेशी कामदारहरुले भिसा पाएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ लेबरका अनुशार ट्रम्पको फ्लोरिडामा रहेको मार ए लागो रिसोर्टमा काम गर्नका लागि ७० जना मेड, कुक र सर्भरहरुले एच टु बी भिसा पाएका हुन् ।
ह्वाइटहाउसमा ट्रम्पको मेड इन अमेरिका नामको साप्ताहिक अभियान चलिरहेको बेलामा भिसाका लागि आवेदन दिइएको थियो । सन् २०१७ र २०१८ को पर्यटक सिजनका लागि ट्रम्पको रिसोर्टले ७० जनाको भिसा स्वीकृति पाएको हो । गतबर्ष ६४ जना विदेशी कामदारले ट्रम्पको मार ए लागो रिसोर्टमा काम गर्नका लागि कामदार भिसा पाएका थिए ।
साउथ फ्लोरिडाको स्थानीय रोजदार एजेन्सीले एच टु बी भिसामार्फत दिइएका रोजगारका लागि ५ हजार भन्दा धेरै स्थानीय कामदारहरु उपलब्ध रहेको जनाएको छ । तर ट्रम्पले स्थानीयलाई रोजगार नदिई विदेशी कामदार झिकाएका हुन् ।
मार ए लागोमा काम गर्नका लागि कामदार भिसा पाउने ७० कामदारहरु नै युरोपको रोमानिया र क्यारेबियन हैटीका रहेको जनाइएको छ ।