करातेका तेन्जिङ शेर्पाले जापानमा जारी एसियाडमा जिते नेपालका लागि पहिलो मेडल
प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार
जापानको आइची–नागोया २०२६ एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ८४ केजीभन्दा माथिको कुमितेमा कास्य पदक जितेपछि नेपाली खेलाडी तेन्जिङ शेर्पा। उनले लाओसका खेलाडीलाई ९–१ ले पराजित गरेका थिए। तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास
नागोया, जापान — जापानमा जारी २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) मा नेपाललाई पदकविहीन हुनबाट जोगाउँदै तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्। उनको यस सफलतासँगै एसियाडको पदक तालिकामा नेपालको नाम र राष्ट्रिय ध्वजा अंकित भएको छ।
जारी एसियाली खेलकुदको करातेमा नेपालले कम्तीमा एउटा स्वर्ण पदक जित्ने अपेक्षा राखेको थियो। नेपालबाट सहभागी सात खेलाडीमध्ये पाँच जना पदकका लागि प्रतिस्पर्धा गर्ने चरणसम्म पुगे पनि स्वर्ण जित्ने नेपालको लक्ष्य भने पूरा हुन सकेन।
चीनको हान्झाउमा भएको अघिल्लो एसियाडमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङबाट यसपटक पनि ठूलो अपेक्षा गरिएको थियो। तर उनी पदकविहीन बनिन्। नेपालका अन्य खेलाडीहरू पनि प्रतिस्पर्धाबाट बाहिरिइसकेको अवस्थामा काठमाडौंको बौद्धका २३ वर्षीय तेन्जिङले अन्तिम अवसरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पदक खाता खोलेका हुन्।
सेप्टेम्बर २३, २०२६ अर्थात् असोज ७, २०८३ मा जापानको तोयोहाशीस्थित तोयोहाशी सिटी जनरल जिम्नेसियममा भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहको कास्य पदकका लागि रिपिचेज खेलमा तेन्जिङले लाओसका सयासाने भात्थानालाई ९–१ ले पराजित गरे।
खेलको सुरुदेखि नै आक्रामक देखिएका तेन्जिङले एक इप्पोनबाट तीन अंक तथा छ वटा युकोबाट थप छ अंक जोड्दै कुल नौ अंक बनाए। लाओसका खेलाडीले भने एक अंक मात्र जोड्न सके।

जितपछि तेन्जिङ भावुक
ऐतिहासिक कास्य पदक जितेपछि तेन्जिङले आफूले खेलका क्रममा केवल देशका लागि पदक जित्ने लक्ष्यमा ध्यान केन्द्रित गरेको बताए।
“मनमा धेरै कुरा चलेको थिएन। जसरी पनि जित्नुपर्छ र देशका लागि पदक ल्याउनुपर्छ भन्ने मात्रै सोच थियो,” उनले भने, “अरू कसैले ल्याउन नसकेको कठिन अवस्थामा अन्तिम समयमा भए पनि देशका लागि पदक ल्याउन पाउँदा निकै खुसी लागेको छ।”
पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएरै पदक जितेका तेन्जिङले आफ्नो सफलता आमा, प्रशिक्षक तथा सम्पूर्ण नेपाली टोलीलाई समर्पण गरे। उनले हालै रसुवामा आएको बाढीपहिरोबाट प्रभावित भएका परिवारप्रति पनि सहानुभूति व्यक्त गर्दै आफ्नो सफलता विपत्तिबाट प्रभावित नेपालीहरूप्रति समर्पित गरेको बताए।
तेन्जिङले आगामी दिनमा करातेको विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने र ओलम्पिकका लागि छनोट हुँदै देशका लागि अझ ठूलो पदक जित्ने लक्ष्य रहेको बताए।

प्रशिक्षकले भने– तेन्जिङले अन्तिमसम्म हिम्मत हारेनन्
नेपाली कराते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले तेन्जिङको पदकलाई नेपाली करातेका लागि महत्वपूर्ण उपलब्धिका रूपमा बताए।
श्रेष्ठका अनुसार एरिकासहित अन्य खेलाडीहरू पदकको नजिक पुगेर पनि बाहिरिएपछि टोली दबाब र निराशामा थियो। तर तेन्जिङले अन्तिम समयसम्म आफ्नो आत्मविश्वास कायम राखेको उनले बताए।
“क्वार्टरफाइनलदेखि रिपिचेजसम्म उनले जुन धैर्यता, अनुशासन र आक्रामक कौशल देखाए, त्यसैको परिणाम आज नेपालको नाममा पदक सम्भव भएको हो,” श्रेष्ठले भने।
नेपालको स्वर्ण पदक जित्ने लक्ष्य पूरा हुन नसके पनि तेन्जिङको कास्यले देश र नेपाली खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको उनको भनाइ थियो।
विद्यालयबाट सुरु भएको कराते यात्रा
काठमाडौंको बौद्ध निवासी तेन्जिङले साथीहरूको प्रेरणा र प्रोत्साहनबाट विद्यालय तहदेखि कराते खेल सुरु गरेका थिए। विद्यालयस्तरबाट सुरु भएको उनको खेल यात्रा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको हो।
तेन्जिङ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता हुन्। उनले अन्तर्राष्ट्रिय इन्डोर कराते प्रतियोगितामा पनि पदक जितिसकेका छन्। यसबाहेक उनले एसियन कराते च्याम्पियनसिपमा सहभागी हुँदै नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
क्वार्टरफाइनलदेखि कास्यसम्मको यात्रा
तेन्जिङको पदक यात्रा क्वार्टरफाइनलदेखि नै नाटकीय रह्यो। क्वार्टरफाइनलमा उनले मकाउका लिओङ अन टेकसँग प्रतिस्पर्धा गरेका थिए। निर्धारित समयको खेल ०–० को बराबरीमा सकिए पनि प्रतिद्वन्द्वीले विश्व कराते महासंघको नियमविपरीत चौथो गम्भीर नियम उल्लङ्घन अर्थात् हान्सोकु गरेपछि अयोग्य घोषित भए। त्यससँगै तेन्जिङ सेमिफाइनलमा प्रवेश गरे।
सेमिफाइनलमा भने तेन्जिङ एसियाली च्याम्पियन इरानका महमुद नेमातीसँग ५–० ले पराजित भए। नेमातीले फाइनलमा साउदी अरेबियाका सन्द हासान सुफियानीलाई ६–३ ले पराजित गर्दै स्वर्ण जितेपछि तेन्जिङले रिपिचेजमार्फत कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाए।
रिपिचेजमा तेन्जिङले लाओसका सयासाने भात्थानामाथि सुरुदेखि नै दबाब कायम राखे। आक्रामक खेल प्रदर्शन गर्दै उनले ९–१ को फराकिलो जित निकाले र कास्य पदक सुनिश्चित गरे।
एसियाड करातेमा नेपालका पाँचौँ पदक विजेता
तेन्जिङको यो सफलतासँगै एसियाली खेलकुदको करातेमा पदक जित्ने नेपाली खेलाडीको संख्या पाँच पुगेको छ।
यसअघि सीता राईले सन् १९९४ को हिरोसिमा एसियाडमा कास्य, समरबहादुर गोलेले सन् १९९८ को बैंकक एसियाडमा कास्य, बिमला तामाङले सन् २०१४ को इन्चोन एसियाडमा कास्य तथा एरिका गुरुङले सन् २०२३ को हान्झाउ एसियाडमा रजत पदक जितेका थिए।
तेन्जिङको कास्यसँगै एसियाली खेलकुदमा नेपालको कराते पदक संख्या पाँच पुगेको छ।
समग्र एसियाड इतिहासमा भने यो नेपालको २४औँ कास्य पदक हो। यससँगै एसियाली खेलकुदमा नेपालको कुल पदक संख्या २७ पुगेको छ, जसमा तीन रजत र २४ कास्य पदक रहेका छन्।
जारी २०औँ एसियाली खेलकुदको करातेमा दक्षिण एसियाली क्षेत्रबाट पदक जित्ने नेपाल र तेन्जिङ शेर्पा एकमात्र पदक विजेता बनेका छन्।





