न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको दोस्रो दिन: बाढीपछिको पुनःस्थापना र ग्लोबल साउथ सहकार्यमा केन्द्रित
प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय साधारण बहसको उद्घाटन सत्रमा मंगलबार, सेप्टेम्बर २२, २०२६ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सहभागी हुँदै नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल। तस्बिरः राजन काफ्ले/खसोखास
न्युयोर्क — संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु भएसँगै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार न्युयोर्कमा आफ्नो दोस्रो दिन उच्चस्तरीय कूटनीतिक, द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा बिताएका छन्।
खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत समारोहमा सहभागी हुनुका साथै संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु भएको महासभाको उच्चस्तरीय साधारण बहसको उद्घाटन सत्रमा सहभागिता जनाए।
यस वर्षको बहस “विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन: सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ” भन्ने विषयवस्तुमा केन्द्रित छ। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी बिहीबार, सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
खनालको न्युयोर्क भ्रमणको दोस्रो दिन स्लोभाकिया, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र भारतका उच्च अधिकारीसँग भेटवार्ता हुनुका साथै नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।
स्लोभाकियासँग नवीकरणीय ऊर्जा र जलविद्युतमा सहकार्य
खनालले स्लोभाकियाका विदेश तथा युरोपेली मामिला मन्त्री जुराज ब्लानारसँग द्विपक्षीय भेटवार्ता गरे। भेटमा उनले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपत्तिप्रति स्लोभाक सरकार र जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए।
दुवै मन्त्रीले द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप विस्तार गर्ने उपायबारे छलफल गरेका थिए। वार्तामा नवीकरणीय ऊर्जा, जलविद्युत, पर्यटन, प्रविधि तथा सेवा क्षेत्रका साथै पूर्वसूचना प्रणाली र साइबर सुरक्षा विषय समेटिएका थिए।
दुवै पक्षले बहुपक्षीयताको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै संयुक्त राष्ट्रसंघमा थप निकट सहकार्य गर्ने विषयमा पनि जोड दिएका थिए।

माल्दिभ्ससँग जलवायु र विकास सहकार्य
खनालले माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमसँग पनि भेटवार्ता गरे। नेपालमा हालै आएको विनाशकारी बाढीपछि माल्दिभ्स सरकार तथा जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता र मानवीय सहयोगका लागि उनले धन्यवाद दिए।
भेटमा दुवै मन्त्रीले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय विषयमा छलफल गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा पर्यटन, रोजगारी र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी गरे।
जलवायु परिवर्तन, विकास वित्त, दिगो विकास तथा संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा साझा चासोका विषयमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा पनि दुवै पक्षले जोड दिए।

अमेरिकी सहयोगमा बाढी पुनःस्थापना मुख्य विषय
अमेरिकी अधिकारीसँगको भेटमा नेपालको बाढीपछिको पुनःस्थापना र पुनर्निर्माण प्रमुख विषय बनेको थियो।
खनालले संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरे। भेटमा हुकरले नेपालमा आएको बाढीबाट प्रभावित सबैप्रति अमेरिकी सरकारको समवेदना व्यक्त गरिन्। उनले बाढीपछि सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि अमेरिकी समवेदना व्यक्त गरेकी थिइन्।
भेटका क्रममा हुकरले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना र क्षेत्रीय सम्पर्क विस्तारका लागि स्थायी तथा आवश्यकताअनुसार निर्माण गरिने पुल बनाउन अमेरिकी कंग्रेससँग सहकार्य गरी १ करोड अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइन्। ती पुल अमेरिकी कम्पनीबाट निर्माण तथा आपूर्ति हुने अपेक्षा गरिएको छ।
अमेरिकाले प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र जाडोयामका लागि आवश्यक सहयोगमा थप ८० लाख डलर उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेको छ।
त्यसैगरी, भविष्यमा हुने विपद्पछिको पुनःस्थापना तथा उद्धार कार्यमा प्रयोग गर्न अमेरिकी सरकारले १ करोड ३० लाख डलर बराबरका अमेरिकी निर्मित ड्रोन उपलब्ध गराउने योजना रहेको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यी थप प्रतिबद्धतासहित नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकी सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुग्नेछ।

अमेरिकी वाणिज्य क्षेत्रमा लगानी र व्यापारको विषय
अमेरिकी चेम्बर अफ कमर्सका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकृत डा. जोसुवा वाकरले पनि परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेका थिए।
भेटमा नेपालमा लगानीका अवसर, आर्थिक सहकार्य विस्तार तथा नेपाल र अमेरिकाबीच व्यापारिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको थियो। यसअघि आधिकारिक कार्यक्रम तालिकामा चेम्बरका वरिष्ठ उपाध्यक्ष अतुल केशपसँग भेटवार्ता हुने उल्लेख गरिएको थियो।

भारतसँग नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल
खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरे।
नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारतीय सरकार तथा जनताले व्यक्त गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको सहयोगका लागि खनालले धन्यवाद व्यक्त गरे।
भेटमा आपसी हितका विषयमा छलफल हुनुका साथै नेपाल–भारतबीच लामो समयदेखि कायम सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो।

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ग्रेनाडाबीच मंगलबार औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित समारोहमा परराष्ट्रमन्त्री खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरे।
हस्ताक्षरअघि दुवै मन्त्रीले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउने तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए। पर्यटन, शिक्षा लगायतका क्षेत्रमा अनुभव तथा उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि कुराकानी भएको थियो।
ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १८६ पुगेको छ।

ग्लोबल साउथलाई विश्व निर्णय प्रक्रियामा थप भूमिका दिनुपर्ने खनालको जोड
खनालले भारत सरकारद्वारा संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा आयोजित समान विचारधारा भएका ग्लोबल साउथका देश तथा तिनका मित्र राष्ट्रहरूको उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गरे।
सम्बोधनका क्रममा उनले ग्लोबल साउथमा रहेको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै विकासशील देशहरूलाई विश्वव्यापी निर्णय प्रक्रियामा थप बलियो आवाज दिनुपर्नेमा जोड दिए।
उनले सामूहिक कार्यलाई थप प्रभावकारी बनाउने, दक्षिण–दक्षिण सहकार्यलाई सुदृढ गर्ने तथा विश्वव्यापी शासन प्रणालीलाई थप समतामूलक र प्रतिनिधिमूलक बनाउने आवश्यकता औँल्याए।
“ग्लोबल साउथलाई सशक्त बनाएर हामी बहुपक्षीयतालाई नै पुनर्जीवित गर्छौँ,” खनालले भने।

गरिबी उन्मूलनमा बहुआयामिक दृष्टिकोण आवश्यक: परराष्ट्र सचिव
नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघको मुख्यालयमा भुटानको स्थायी नियोगले आयोजना गरेको “सन् २०३० पछि: सबै आयाममा गरिबी अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धताको नवीकरण” शीर्षकको उच्चस्तरीय छलफलमा सहभागिता जनाए।
राईले गरिबीलाई आम्दानीको अभावका रूपमा मात्र बुझ्न नहुने भन्दै आधारभूत क्षमता, सुरक्षा र मानव स्वायत्तताको अभावसँग पनि जोडेर हेर्नुपर्ने बताए।
उनले गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै नेपालले हासिल गरेका प्रगति तथा अझै बाँकी चुनौतीबारे चर्चा गरे।

राईले तीव्र गतिमा बढिरहेको जलवायु संकटले नेपालजस्ता देशमा पारिरहेको असमान प्रभावबारे पनि चर्चा गरे। उनले नेपालको हालैको जलवायुजन्य विपत्तिमा भएको मानवीय क्षति तथा महत्वपूर्ण पूर्वाधारमा परेको क्षतिको उल्लेख गर्दै जलवायु–उत्थानशील विकास, जलवायु न्याय, वित्तीय स्रोत तथा प्रविधिमा थप पहुँच र विश्वव्यापी विकास प्रतिबद्धताको तीव्र कार्यान्वयनमा जोड दिए।
उनले सन् २०३० को एजेन्डा तथा भविष्यका लागि सम्झौता लगायतका विश्वव्यापी प्रतिबद्धता कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए।
भूपरिवेष्टित विकासशील देशका मुद्दामा छलफल
राईले भूपरिवेष्टित विकासशील देशसम्बन्धी अन्तर्राष्ट्रिय थिंक ट्यांकका कार्यकारी निर्देशक दुल्गुन डामदिन–ओडसँग पनि भेटवार्ता गरे।
भेटमा सम्पर्क सञ्जाल, हवाई यातायात, जलवायुका मुद्दा, महत्वपूर्ण खनिज, युवाको सहभागिता तथा अवाजा कार्यक्रम कार्ययोजना लगायतका विषयमा छलफल भएको थियो।

रेडक्रसका महासचिवसँग भेट
परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघका महासचिव जगन चापागाईंलाई पनि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा भेट गरे। भेटमा नेपालको पछिल्लो विपद् तथा मानवीय सहयोगसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

नेपाली महावाणिज्य दूतावासमा ब्रिफिङ
खनालले न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावासको पनि भ्रमण गरी ब्रिफिङ लिए। उनले दिउँसो एक अन्तर्वार्तामा समेत सहभागिता जनाए।

दिनभरका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तापछि खनालले अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागिता जनाउँदै न्युयोर्कमा आफ्नो दोस्रो दिनका औपचारिक कार्यक्रम सम्पन्न गरे।





