२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

क्यालिफोर्नियाको समुद्रमा खाना र पानीविहीन ३० फिटे डुङ्गाबाट ३७ जनाको सकुशल उद्धार

Photo: Royce Fonseca/ Unsplash

दक्षिण क्यालिफोर्नियाको समुद्री तटभन्दा करिब ९० माइल टाढा इन्धन, खाना र पानीविहीन भई दुई दिनदेखि अलपत्र परेको एउटा ३० फिटे मनोरञ्जनात्मक डुङ्गाबाट ३७ जना सम्भावित आप्रवासीलाई अमेरिकी तटरक्षकले सकुशल उद्धार गरेको छ।

तटरक्षकका अनुसार शुक्रबार च्यानल आइल्याण्ड्स हार्बरबाट करिब ८८ माइल टाढा डुङ्गा भेटिँदा त्यसमा ३७ जना सवार थिए। दिउँसो करिब ३:४० बजे डुङ्गाका चालकले सहयोगका लागि रेडियोमार्फत सन्देश पठाएपछि उद्धार कार्य सुरु गरिएको थियो। चालकले डुङ्गा दुई दिनदेखि इन्धन, खाना र पानीविहीन अवस्थामा बगिरहेको र त्यसमा कुनै पनि व्यक्तिगत सुरक्षा उपकरण नभएको जानकारी गराएका थिए।

सूचना पाउनासाथ तटरक्षकले ‘सकेई’ र ‘ह्यालिबट’  नामक साना युद्धपोत, लस एन्जलस-लङ बीच र च्यानल आइल्याण्ड्स स्टेसनका डुङ्गाहरू तथा हवाई टोलीसहित धेरै उद्धार टोलीहरू घटनास्थलतर्फ पठाएका थिए। टोलीले राति करिब ८:३० बजे डुङ्गा फेला पारी सबै ३७ जनालाई ‘सकेई’ पोतमा सुरक्षित सारेको थियो।

‘सकेई’ का इन्चार्ज मास्टर चिफ पिटर नेल्सनले कठिन परिस्थितिमा पनि उद्धार कार्य सफल भएकोमा टोलीको प्रशंसा गरे। “तटभन्दा धेरै टाढा, प्रतिकूल मौसम र रातिको समयमा पनि हाम्रा टोलीहरूले हरेक व्यक्तिको ज्यान नबचाएसम्म निरन्तर प्रयास जारी राखे,” नेल्सनले भने, “उनीहरूको असाधारण व्यावसायिकता, उत्कृष्ट निर्णय क्षमता र कुशल कार्यकुशलता यस उद्धार कार्यमा स्पष्ट देखियो।”

उद्धार गरिएका सबै ३७ जनालाई लस एन्जलस-लङ बीचस्थित कोस्ट गार्ड बेसमा ल्याएर अमेरिकी सीमा सुरक्षा बलको जिम्मा लगाइएको छ। ती व्यक्तिहरू कुन देशका हुन्, डुङ्गा कहाँबाट यात्रा सुरु गरेको थियो र कहाँ जाँदै थियो भन्नेबारे तटरक्षकले केही खुलाएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।