अमेरिकामा रहेका यी नेपालीले यसरी भर्नसक्छन् डिभी


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

रमेश श्रेष्ठ, कानुन व्यवसायी

अमेरिकाभित्रै रहेका कस्ता नेपालीहरु डिभी कार्यक्रमका लागि योग्य हुन्छन् ?

अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त गर्नका लागि आफ्नो कानुनी स्टेटस एड्जस्ट गर्न योग्य हुनुपर्छ । डिभी लोटरी पारेपनि स्टेटस एड्जस्ट गर्न योग्य छैन भने ग्रिनकार्ड प्राप्त गर्न सकिन्न । अमेरिकामा रहेका नेपालीहरुमा विद्यार्थी भिसामा रहेकाहरु, कामदार भिसामा रहेकाहरु वा ग्रिनकार्ड नभएका तर अद्यावधिक भिसामा कानुनी हैसियतमा रहेकाहरु डिभी लोटरी भरेर स्टेटस एड्जस्ट गर्नका लागि योग्य हुन्छन् । त्यसैले उनीहरु डिभी लोटरीका लागि योग्य हुन्छन् । तर भिसाको अवधि सकिएका वा गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अन्य क्षेत्रबाट अमेरिका छिरेकाहरुलाई डिभी लोटरी परेपनि उनीहरु अमेरिकामा नै बसेर स्टेटस एड्जस्ट गर्न योग्य हुँदैनन् । त्यसैले उनीहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् । अमेरिकामा स्थायी बासिन्दा भएर प्रवेश गर्न नपाउने व्यक्तिको सुचीमा रहेकाहरुले डिभी भरेर पारेपनि स्टेटस एड्जस्ट गर्न सक्दैनन् । डिभीबाट लाभ लिन व्यक्ति कानुनी हैसियतमा रहेको हुनुपर्छ ।

कानुनी हैसियत नभएका व्यक्तिका लागि कुनै वैकल्पिक बाटो छ कि ?

बिल क्लिन्टनको पालामा आएको सेक्सन २४५ आई कानुन अनुशार कानुनी हैसियत नभएका व्यक्ति पनि १ हजार डलर जरिवाना तिरेर स्टेटस एड्जस्ट गर्नका लागि योग्य हुन्छन् । यो कानुन २१ डिसेम्बर २००० मा पारित भएको थियो । तर यो कानुन अप्रिल २००१ मा समाप्त भयो । त्यो ४ महिनाको अवधिमा कुनै निवेदन पेश गरेको खण्डमा त्यो निवेदन स्वीकृत नभएको भएपनि त्यसरी आवेदन दिएकाहरु स्टेटस एड्जस्टका लागि योग्य हुन्छन् । त्यतीबेला आवेदन दिएका तर स्वीकृत नभएका कोही नेपालीहरु अमेरिकामा छन् र डिभी परेमा उनीहरु १ हजार डलर जरिवाना तिरेर स्टेटस एड्जस्टका लागि योग्य हुन्छन् । तर उनीहरु २१ डिसेम्बर २००० भन्दा अगाडि अमेरिकामा प्रवेश गरेको हुनुपर्छ भने अप्रिल ३०, २००१ सम्मको चार महिनाको अवधिमा ग्रिनकार्डका लागि युएससीआईएसमा कुनै न कुनै आवेदन दिएको हुनुपर्छ । त्यस्तो व्यक्ति जसरी अमेरिका आएको भएतापनि अहिले स्टेटस एड्जस्ट गर्न सक्छन् । यदि उनीहरुलाई डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गर्न सक्छन् । यदि श्रीमान्को २४५ आई छ भने श्रीमतिले र श्रीमतिको छ भने श्रीमान्ले समेत फाइदा लिन सक्छन् । त्यसैले उनीहरुले डिभी लोटरी भर्दा हुन्छ । तर त्यसपछि अमेरिका आउने व्यक्तिको भिसा अद्यावधिक छैन र गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका छन् भने डिभी मार्फत स्टेटस एड्जस्टका लागि योग्य हुँदैनन् ।

अमेरिकामा भिसाको अवधि सकिएका वा गैरकानुनी रुपमा छिरेकाहरुलाई डिभी परेमा उनीहरु स्वेदश फर्केर दूतावासमार्फत भिसा लिएर आउन सक्दैनन् ?

६ महिना भन्दा बढी अमेरिकामा गैरकानुनी रुपमा वा भिसा सकिएपछि बसेको व्यक्तिले डिभी लोटरी पारेमा त्यसमार्फत ग्रिनकार्ड पाउन सक्दैन । ६ महिनाभन्दा बढी १ बर्षभन्दा कम अमेरिकामा गैरकानुनी रुपमा अमेरिकामा बसेको व्यक्तिलाई अमेरिका प्रवेशका लागि ३ बर्षको बार लाग्ने भएकाले त्यस्तो व्यक्ति स्वदेश फर्केर पनि तीन बर्षका लागि भिसाका लागि अयोग्य हुने भएकाले डिभी लोटरीबाट फाइदा लिन सक्दैन । एकबर्षभन्दा बढी गैरकानुनी रुपमा अमेरिकामा बसेको व्यक्तिलाई डिभी परेमा नेपाल फर्केर भिसा लिंदा १० बर्षको प्रतिबन्ध लाग्ने भएकाले डिभी लोटरीबाट फाइदा लिन सक्दैन । डिभीको सन्दर्भमा त्यस्तो प्रतिबन्ध फुकुवा गर्ने तरिका छैन । गैरकानुनी रुपमा अमेरिका छिरेकाहरुलाई पनि डिभी परेमा उनीहरु स्वेदश फर्केर भिसा प्रतिबन्ध फुकुवा गर्ने वा अमेरिकामा नै स्टेटस एड्जस्ट गर्ने कुनै तरिका छैन ।

अमेरिकामा कुनै न कुनै कानुनी हैसियतमा रहेका नेपालीहरुलाई डिभी लोटरी परेमा के गर्नुपर्छ ?

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस एड्जस्ट गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति÷पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

यसबारे थप जानकारी आवश्यक परेमा रमेश श्रेष्ठको कानुनी कार्यालय श्रेष्ठ ल फर्मममा (212) 925-1458 नम्बरमा फोन गरेर सोध्न सक्नुहुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com