रक्षा मन्त्री हेगसेथसँगको मतभेदपछि अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलद्वारा राजीनामा
Photo: Kevin Doyle/ Unsplash
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथसँग लामो समयदेखि चलिरहेको तनावपछि अमेरिकी सेनाका नागरिक प्रमुख ड्यान ड्रिस्कोलले आफ्नो पदबाट राजीनामा दिएका छन्। पेन्टागनको नेतृत्वमा लगातार भइरहेको हेरफेरको शृङ्खलामा यो पछिल्लो राजनीतिक घटनाक्रम हो।
सोमबार ड्रिस्कोलले “राष्ट्रपतिसँग सेनाको वर्तमान अवस्थाबारे छलफल गर्दै आफ्नो राजीनामा बुझाएका हुन्,” सेनाका एक अधिकारीले पुष्टि गरे।
इरानसँगको द्वन्द्व चुलिँदै गएको संवेदनशील समयमा ड्रिस्कोलको बहिर्गमन र हेगसेथद्वारा शीर्ष सैन्य अधिकारीहरूलाई पदमुक्त गर्ने अभियानले अमेरिकी सशस्त्र बलको सबैभन्दा ठूलो अङ्गमा नेतृत्वको ठूलो शून्य सिर्जना गरिदिएको छ।
इराक युद्धका पूर्वसैनिक ड्रिस्कोलले गत वर्ष युक्रेन शान्ति वार्तामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, ठूला कर्मचारी निर्णय र सैन्य पुनर्संरचनाका विषयमा रक्षा मन्त्री हेगसेथसँग उनको लगातार विवाद हुँदै आएको थियो। ड्रिस्कोलका निकटस्थ व्यक्तिहरूका अनुसार, हेगसेथले सेनाको रूपान्तरण र तयारीका लागि जिम्मेवार जनरलहरूलाई बर्खास्त गरेपछि ड्रिस्कोलले प्रशासनसमक्ष आफ्नो गम्भीर असन्तुष्टि जनाएका थिए।
दुवै नेताबीच सबैभन्दा ठूलो विवाद ‘चीफ अफ स्टाफ’ जनरल रेन्डी जोर्जको बर्खास्तगीलाई लिएर भएको थियो। ड्रिस्कोल र जनरल जोर्जबीच निकट सम्बन्ध थियो। जोर्जको बर्खास्तगीपछि ड्रिस्कोलले कंग्रेससमक्ष ती जनरलप्रति आफ्नो उच्च सम्मान रहेको बताएका थिए।
सेनाका दुवै प्रमुख पद-आर्मी सेक्रेटरी र चीफ अफ स्टाफ-मा सिनेटको स्वीकृति आवश्यक पर्छ। हाल यी दुवै पद रिक्त हुँदा रक्षा मन्त्री हेगसेथका निकट मानिने जनरल क्रिस्टोफर लानेभलाई कार्यवाहक उपप्रमुखका रूपमा जिम्मेवारी सुम्पिएको छ।
यसअघि गत अप्रिलमा अमेरिकी नौसेनाका सचिव जोन पेलानलाई पनि हेगसेथले बर्खास्त गरेका थिए। पेलानको पनि पानीजहाज निर्माण कार्यक्रम र अधिकारीहरूको पदोन्नतिलाई लिएर हेगसेथसँग विवाद भएको थियो। हेगसेथले हालसम्म सेनाका २४ भन्दा बढी जनरल र एडमिरलहरूलाई पदबाट हटाइसकेका छन् भने दर्जनौको पदोन्नति रोकेका छन्।
भ्यान्चर क्यापिटल र फाइनान्स क्षेत्रको अनुभव बटुलेका ड्रिस्कोलले सेनाको आधुनिकीकरण र नयाँ प्रविधि, जस्तै: सस्तो ड्रोन तथा ड्रोन-विरोधी प्रणालीको प्रयोगमा विशेष जोड दिँदै आएका थिए। तर, उनको यो पहललाई हेगसेथले सकारात्मक रूपमा लिएका थिएनन्।
उपराष्ट्रपति जेडी भान्सका नजिकका साथी मानिने ड्रिस्कोल भविष्यमा भान्सको सम्भावित राष्ट्रपति अभियानमा जोडिने अनुमान गरिएको छ। यता ह्वाइट हाउसले ड्रिस्कोलको कार्यकालको प्रशंसा गर्दै उहाँको नेतृत्वमा सेनाको तयारी र युक्रेन वार्तामा महत्त्वपूर्ण योगदान पुगेको जनाएको छ।





