रसुवा बाढीको वितण्डा : ३५९ जनाको शव भेटियो, ९१० अझै बेपत्ता


प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म ३ सय ५९ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी चितवनमा १३२ जनाको शव भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

९१० जना अझै सम्पर्कविहीन, ५१७ विदेशी नागरिक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९ सय १० जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी छन् ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार रसुवाका १६१ र नुवाकोटका १ जना नागरिक बेपत्ता छन् । त्यस्तै, बेपत्तामध्ये ५ सय १७ जना विदेशी नागरिक र १२७ जना गैरआवासीय (विदेशमा बस्ने) नेपाली रहेका छन् । बाढीका कारण घाइते भएका ७३ जना (रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना) को विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, वायु र स्थल मार्गबाट उद्धार
खोज तथा उद्धारका लागि सरकारले १३ हजार २ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना रहेका छन् ।

हेलिकप्टरमार्फत हालसम्म ७९६ जनाको उद्धार गरिएको छ । बिहीबार भएका ६९ वटा हवाई उडानमार्फत ५० जना विदेशी नागरिकसहित अन्यको उद्धार गरिएको थियो। यस्तै, बिहीबार नै स्थल मार्ग (जमिन) बाट ६५४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

तीन जिल्लामा साढे दुई करोड नगद र १० ट्रक राहत सामग्री पठाइयो
सरकारले बाढी प्रभावित क्षेत्रमा साढे दुई करोड रुपैयाँ नगद राहत पठाएको छ। जसअनुसार रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ पठाइएको छ।

यसैगरी, प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, टेन्ट र ब्ल्याङ्केट जस्ता आवश्यक सामग्री बोकेका १० ट्रक राहत पठाइएको छ। सञ्चार सेवा सहज बनाउन सञ्चार सेटहरूका साथै हेलिकप्टरका ४ वटा उडानमार्फत खाद्यान्न तथा गैर-खाद्य सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com