मध्यपूर्वका आठ देशमा कूटनीतिक उपस्थिति पुनः बढाउँदै अमेरिका
Photo: Aleksey Smagin/ Unsplash
इरानसँगको तनाव र युद्ध अघि तथा त्यसका क्रममा खाली गरिएका मध्यपूर्वस्थित आफ्ना दूतावासहरूमा अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको एक आन्तरिक दस्तावेजले देखाएको छ। मध्यपूर्वस्थित अमेरिकी नियोगहरूमा वैदेशिक सेवाका अधिकारीहरूको फिर्ती र आपत्कालीन सुरक्षा उपायहरूको कटौती यसै सातादेखि सुरु हुन सक्ने जनाइएको छ।
दस्तावेजका अनुसार मध्यपूर्वस्थित अमेरिकी नियोगहरूमा वैदेशिक सेवाका अधिकारीहरूको फिर्ती र आपत्कालीन उपायहरूको कटौती यसै सातादेखि सुरु हुन सक्छ।
उच्च कर्मचारी स्तर बहाल गर्न लागिएका दूतावासहरूमा इजरायल, लेबनान, साउदी अरेबिया, कतार, जोर्डन, ओमान, इराक र कुवेत रहेका छन्।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विश्वभरका हाम्रा कूटनीतिक नियोगहरूको सुरक्षा अवस्थाको हामी निरन्तर समीक्षा गर्छौं। पछिल्लो मूल्याङ्कनका आधारमा हाम्रा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्दै अमेरिकी वैदेशिक नीतिका उद्देश्यहरू अगाडि बढाउन मध्यपूर्वका निश्चित पोस्टहरूमा कर्मचारी समायोजन गरिरहेका छौं।”
दस्तावेज अनुसार, पहिलो चरणमा कूटनीतिज्ञहरू लेबनानस्थित अमेरिकी दूतावासमा फर्किनेछन्, यद्यपि त्यहाँको कर्मचारी सङ्ख्या पूर्ण क्षमताभन्दा कम नै रहनेछ। पछि इजरायल, जोर्डन र ओमानका दूतावासहरूमा कर्मचारीहरू पूर्ण रूपमा फर्किने प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार र लेबनानका नियोगहरूमा प्रारम्भिक रूपमा ८५ प्रतिशत र इराक, कुवेत तथा बहराइनका नियोगहरूमा ७५ प्रतिशत कर्मचारी सीमित राखिनेछ।
इरानसँगको तनावका बीच गत फेब्रुअरीमा अमेरिकाले इजरायलबाट गैर-आपत्कालीन कर्मचारी र तिनका परिवारलाई स्वेच्छिक रूपमा फिर्ता हुन अनुमति दिएपछि कर्मचारी कटौती सुरु भएको थियो।





