पासपोर्ट छुटेपछि सुडान पुगेका २३२ सैनिक फर्किए र फेरि गए


प्रकाशित मिति : भाद्र ३०, २०७३ बिहीबार

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि दक्षिण सुडान पुगेको नेपाली सेनाको टोली पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि दक्षिण सुडान पुगेर फर्किएको छ । दक्षिण सुडानको राजधानी जुबा पुगेर उनीहरू काठमाडौं आई पासपोर्ट लिएर बुधबार बिहानै फेरि जुबाका लागि प्रस्थान गरेका छन् ।

शान्ति मिसनमा जाने सैनिक अधिकारीको पासपोर्ट तथा राष्ट्रसंघको मनोनयनपत्र राखिएको झोला विमानस्थलस्थित सेनाको बाहिनीमै छुटेको थियो । पासपोर्ट नै नभएपछि दक्षिण सुडानले प्रवेश नदिने अडान लिएपछि दुई सय ३२ जना सैनिकलाई लिएर उक्त जहाज फेरि काठमाडौं आएको थियो । पासपोर्ट लिएर गएपछि उनीहरूले दक्षिण सुडानमा प्रवेश पाएका छन् ।

राष्ट्रसंघकै विमानमा शान्ति सैनिक मंगलबार दिउँसो जुबाका लागि उडेका थिए । टोली इन्चार्जको चरम लापरबाहीले पासपोर्ट भएकै झोला काठमाडौंमा छुटेको हो । शान्ति मिसनमा जाने सैनिक अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच हुँदैन ।

सेनाको बाहिनीतर्फबाट उनीहरू सिधै विमानमा प्रवेश गर्छन् । सोही कारण दक्षिण सुडान पुगेर पासपोर्टको झोला खोज्दा मात्र काठमाडौंमै रहेको थाहा पाएका हुन् । घटनाको विषयमा छानबिन सुरु भएको नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com