नारायणकाजीसँग दुश्मनी छैन तर समृद्ध गोरखाका लागि मै चाहिन्छः बाबुराम


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

१७ कात्तिक, गोरखा । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिले चुनावी प्रचारमा सक्रिय छन् । कांग्रेससँग तालमेल गरेर गोरखा २ मा उम्मेदवारी घोषणा गरेका डा. भट्टराईले नयाँ अवतारमा मतदातासँग भोग माग्दै छन् । पूर्व सहयोद्धा तथा वाम गठबन्धनबाट टिकट पाएका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग उनको प्रतिस्पर्धा हुँदैछ ।

पहिलो र दोस्रो संविधानसभामा क्रमशः गोरखा १ र २ बाट जितेका उनी अर्थमन्त्री र प्रधानमन्त्री बने । वैकल्पिक राजनीतिको वकालत गर्दै माओवादी त्यागेर नयाँशक्ति पार्टी खोलेका डा. भट्टराई र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । प्रस्तुत छ भट्टराईसँग चुनावी सरगर्मीमा केन्दि्रत रहेर अनलाइनखबरका लागि अमृत सुवेदीले गरेको कुराकानीः

गोरखाका मतदाताले यसपटक पनि तपाईंलाई भोट किन दिने ?

दुई वटा संविधानसभाका निम्ति मलाई गोरखावासीले जिताउनुभएको थियो । संवैधानिक सभापतिको नाताले मैले जिम्मेवारी पूरा गरें । विकास निर्माणका केही काम सुरुवात गरेको छु । विकास पूर्वाधारलाई टेकेर गोरखालाई एउटा समृद्ध र नमूना बनाउने मेरा सपना छ । त्यो सपना मेरो मात्रै होइन, नेपाल र नेपालीको हो, गोरखावासीको हो । त्यसकारणले पनि गोरखाली जनताले मलाई साथ दिनुहुन्छ भन्ने विश्वास छ ।

माओवादीबाट दुई पटक जितेर अर्थमन्त्री र प्रधानमन्त्री भए पनि गोरखालीले विकासको स्वाद चाख्न नपाइएको गुनासो पनि सुनिन्छ । अब नयाँशक्ति पार्टीबाट त्यो स्वाद कसरी चाख्न पाउलान् ?

संविधानसभाका ६ सय १ मध्ये शायद म मात्रै त्यस्तो सदस्य हुँ, जो हरेक महिना गृहजिल्ला र गाउँ-गाउँ पुगेको छु । त्यहाँका नागरिकका दुःख, सुखमा साथ दिन पुगेको छु । मैले गोरखामा के-के गरेँ भनेर भन्नै पर्दैन, मतदाताले भन्नुहुन्छ ।

अहिले पुरानै राजनीतिक शक्तिबाट समृद्धि सम्भव छैन भनेर वैकल्पिक राजनीतिक शक्तिका रुपमा नयाँशक्ति सुरु भएको हो । पुरानै सोच र विचार भएका दलबाट कत्तिको विकास भएको छ ? त्यो जगजाहेरै छ ।

एकै पटक कायापलट गर्छु म भन्दिनँ । तर, विकास र समृद्धिलाई नै एजेन्डा बनाएर हिँडेको नेता र पार्टीलाई गोरखावासीले जिताउनुहुन्छ । म विश्वस्त छ ।

तपाईंले जुन समृद्ध नेपाल, नमूना गोरखा बनाउने सपना बाँड्नुभएको छ, त्यो तहसम्म अहिल्यै नयाँशक्तिको शक्ति पुग्छ त ? मतदाताले पत्याउलान् ?

विकास निर्माण कार्यान्वयनको तहमा म मात्रै हुन्नँ । मेरा पार्टीका साथीहरु, विकास समृद्धि चाहने तथा विचार मिल्ने अन्य दलका साथीहरु पनि हुनु हुनेछ । विकास र समृद्धिको एजेन्डा मैले संसदबाट उठाउने छु ।

हामीले लिएको एजेन्डा अहिले अन्य पार्टीका पनि एजेन्डा बनेका छन् । हाम्रो एजेन्डाले जित्नु भनेको हामीले जित्नु हो । एउटा भनाइ नै छ, एउटा चन्द्रमाले पूरै अँध्यारोलाई हटाउन सक्छ तर ताराहरुले सक्दैन भनेजस्तै हामीले उज्यालो देखाउनेछौं ।

पहिले वाम गठबन्धनमा जानुभयो । सूर्य चिह्न लिएर चुनाव लड्ने घोषणा गर्नुभयो । अहिले फेरि कांग्रेससँग तालमेल गर्नुभएको छ । भोलि फेरि अर्को स्वार्थमा अर्कोसँग तालमेल होला । यसलाई ढुलमुले शैलीका रुपमा पनि आलोचना भइरहेको छ नि ?

नयाँशक्ति एउटा अलग्गै वाम लोकतान्त्रिक पार्टी हो । एउटा पूँजीवादी र साम्यवादी शक्तिभन्दा अलग धारको रुपमा यसको परिकल्पना गरिएको हो । मुलुकमा वाम लोकतन्त्र हुँदै समृद्ध समाजवादतिर जाने यसको स्पष्ट दृष्टिकोण र विचार छ ।

अहिले निर्वाचनमा विभिन्न गठबन्धन भइराखेका छन् । यसै क्रममा हामी वाम लोकतान्त्रिक हुनुको नाताले आवश्यकताअनुसार तत्कालीन अवस्थामा चुनावी तालमेल गर्न गएका हौं । तर, कसैसँग पनि हामी गठबन्धनमा छैनौं । कांग्रेससँग गोरखामा भएको पनि चुनावी तालमेल मात्रै हो । कुनै पनि राजनीतिक शक्तिमा हामी पार्टी विलीन गर्दैनौं ।

वाम गठबन्धनमा किन जानु भो अनि किन निस्किहाल्नुभयो ? त्यसको कारण गोरखाको निर्वाचन क्षेत्रको मुद्दा हो ?

अरुले के भन्छन् कुराको हामीसँग जवाफ छैन । गोरखाबाट उठ्नु मेरो माग होइन, गोरखावासीको चाहना हो । पहिले प्रचण्ड, उपेन्द्र यादव र हाम्रोबीचमा चुनावी तालमेल गर्ने कुरा भएको हो । माओवादीको एमालेसँग पहिलेदेखि नै कुरा भइराखेको रहेछ । एमाले, माओवादी र नयाँशक्तिको तालमेल गरौं भन्ने कुरा आयो ।

दुई वाम शक्ति पार्टीको नाम र अबको बाटोसमेत फेर्ने गरी आउँछन् भने किन तालमेल नगर्ने भनेर मैले पनि घोषणा गरेको थिएँ । नाम बदल्छन्, नीति पनि बदल्छन् र नयाँ समाजवादी धारमा आउँछन् भन्ने थियो । र, त्यही विश्वासमा हामी छिरेका थियौं ।

भित्र गएर हामीले देख्यौं पुरानै स्टालिनवादी कम्युनिस्ट पार्टी नै कायम राख्ने देखियो । त्यहाँ हामीलाई झुक्याइयो । उनीहरुको चुनावी दाउपेच मात्रै रहेछ । नेपालको सन्दर्भमा पुरानै कम्युनिस्टको खोल ओढेका, भ्रष्टाचारमा डुबेका शक्तिबाट विकास सम्भव हुँदैन भनेर हामी निस्क्यौं । अहिले गोरखा र रसुवामा कांग्रेससँग तालमेल गरेका छौं । यो केवल तालमेल मात्रै हो, गठबन्धन होइन ।

यही स्वार्थकै लागि गठबन्धन छाडेको भए मैले न पार्टी नै त्याग्ने थिएँ, न त संसदबाट राजीनामा नै दिने थिएँ । म त विशुद्ध देश र जनताको स्वार्थका लागि समृद्ध नेपालको सपना बोकेर निस्केको व्यक्ति हुँ ।

प्रतिस्पर्धीका रुपमा पूर्वसहयोद्धा नारायणकाजीलाई पाउनुभएको छ, यो प्रतिस्पर्धालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

नारायणकाजी श्रेष्ठ मेरा मित्र हुनुहुन्छ । उहाँसँग अहिले पनि मेरो कुनै दुश्मनी छैन । व्यक्तिका हिसाबले उहाँ र म जसले जिते पनि गोरखालीले जित्ने हो । तर, एजेन्डा कसले के बोकेर हिँडेको छ ? को कुन बाटो हिँडेको छ ? र, हिजो गोरखाका निम्ति कसले के गर्‍यो ? अनि, सुख, दुःखको साथी को बन्यो भन्ने कुरा गोरखावासीले हेर्नुहुनेछ ।

चुनाव हो, हारजित हुन्छ तर समृद्ध र नमूना गोरखाका लागि मलाई जिताउनुहुनेछ भन्ने पूर्ण विश्वास छ । विकास र समृद्धिका लागि अनि म अर्थमन्त्री हुँदा सुरु भएका ठूला परियोजना पूरा गर्न पनि गोरखावासीले मलाई जिताउनु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com