एफबीआई निर्देशकको नाम दुरुपयोग गर्दै २० लाख डलरको लोभ देखाएर नेपाली भाषामा ठगी धन्दा


प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार

person using MacBook Pro

तस्बिर: ग्लेन कार्स्टेन्स-पिटर्स/अनस्प्लास

अमेरिकी ब्यूरो र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको नाम दुरुपयोग गर्दै नेपाली भाषामा तयार पारिएको एउटा नयाँ इमेल ठगी धन्दा तीव्र रूपमा फैलिरहेको छ। विदेशी मुलुकमा रहेका नेपालीभाषी तथा गैर-आवासीय नेपालीहरूलाई लक्षित गरी ठगहरूले यो भ्रमजाल सिर्जना गरेका छन्।

उक्त ठगी इमेलमा अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) का वरिष्ठ अधिकारी काश पटेलको नाम जोडिएको छ। इमेलमा एफबीआई, लन्डनस्थित युरोपेली लगानी बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले संयुक्त अनुसन्धान गर्दा विगतमा भ्रष्ट बैंक अधिकारीहरूले पीडितको रकम रोकेको दाबी गरिएको छ। सोही अनुसन्धानको प्रतिफलस्वरूप संयुक्त राष्ट्र संघ र अमेरिकी आदेशअनुरूप पीडितलाई क्षतिपूर्ति बापत अमेरिकी डलर २० लाख उपलब्ध गराउने निर्णय भएको झूटो विवरण प्रस्तुत गरिएको छ।

उक्त पुरस्कार वा क्षतिपूर्तिको रकम पाउनका लागि तत्काल इमेलमा दिइएको इमेल ठेगानामा सम्पर्क गर्न भनिएको छ। यद्यपि प्रविधिक विश्लेषण गर्दा इमेल पठाउने मुख्य ठेगाना नै अर्कै व्यक्तिगत जिमेल रहेको पाइएको छ। कुनै पनि आधिकारिक सरकारी वा अन्तर्राष्ट्रिय नियोगले कहिल्यै पनि हटमेल वा जिमेलजस्ता नि:शुल्क वेबमेल प्रयोग गरेर करोडौँको रकम दिने इमेल पठाउँदैनन्।

साइबर सेक्युरिटी विज्ञहरुका अनुशार यो ‘अग्रिम शुल्क ठगी’ को एउटा रूप हो, जहाँ ठगहरूले ठूलो रकमको लोभ देखाएर सुरुमा प्रक्रियागत शुल्क, कानूनी कर वा बैंक ट्रान्सफर शुल्कका नाममा पीडितबाट आफ्नै खातामा पैसा पठाउन लगाउँछन्। पैसा प्राप्त भइसकेपछि वा व्यक्तिले आफ्ना संवेदनशील बैंक विवरणहरू उपलब्ध गराएपछि ठगहरू सम्पर्कविहीन हुन्छन्।

एफबीआई अधिकारी र अन्तर्राष्ट्रिय बैंकहरूको नाम दुरुपयोग गरी २० लाख अमेरिकी डलरको झूटो लोभ देखाएर नेपाली भाषामा पठाइएको ठगी इमेलको स्क्रिनसट। साइबर सुरक्षा विज्ञहरूले यस्ता शङ्कास्पद इमेलको जवाफ नदिन र व्यक्तिगत विवरण सेयर नगर्न सचेत गराएका छन्।

सुरक्षा अधिकारीहरूले यस्ता शङ्कास्पद र नि:शुल्क जिमेल/हटमेलबाट आएका इमेलहरूको जवाफ नदिन, कुनै पनि लिङ्क वा कागजातमा क्लिक नगर्न र आफ्ना व्यक्तिगत वा बैंकिङ विवरणहरू कसैलाई सेयर नगर्न सर्वसाधारणमा अपिल गर्दै आएका छन्। यस्ता अस्वाभाविक इमेल प्राप्त भएमा सोझै इमेल सेवाप्रदायकमा ‘स्प्याम’ वा ‘फिसिङ’ का रूपमा रिपोर्ट गर्न सुझाव दिइएको छ।

यदि अमेरिकामा हुनुहुन्छ र यस्ता शङ्कास्पद वा ठगी इमेलहरू प्राप्त भएका छन् भने त्यसलाई तुरुन्त सम्बन्धित निकायमा रिपोर्ट गर्न सकिन्छ। सरकारी अधिकारीको प्रतिरूपण र इन्टरनेट वित्तीय ठगीका विरुद्ध एफबीआईको आधिकारिक माध्यमको वेबसाइटमा गई अनलाइन उजुरी दर्ता गर्न सकिन्छ। यसका साथै, उपभोक्ता ठगी नियन्त्रणका लागि सङ्घीय व्यापार आयोगको वेबसाइटमा रिपोर्ट गर्न सकिन्छ भने यस्ता फिसिङ इमेलहरूलाई विश्लेषकहरूको सञ्जाल एन्टी-फिसिङ वर्किङ ग्रुपको इमेल [email protected] मा सोझै फरवार्ड गर्न सकिन्छ।

सुरक्षा अधिकारीहरूले यस्ता अस्वाभाविक इमेलहरूको जवाफ नदिन, कुनै पनि लिङ्क वा फाइलमा क्लिक नगर्न र आफ्ना व्यक्तिगत वा बैंकिङ विवरणहरू कसैलाई सेयर नगर्न आग्रह गर्दै आएका छन्। यदि गल्तीले बैंकिङ विवरण वा रकम पठाइएको छ भने तुरुन्त आफ्नो बैंक वा क्रेडिट कार्ड कम्पनीमा सम्पर्क गरी खाता रोक्न र सुरक्षा टोलीलाई जानकारी गराउनुपर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com