‘किशोरकिशोरीसमेत अवैध रुपमा पुर्याइन्छन् अमेरिका’ : कान्तिपुर दैनिक
प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

–
आठ/नौ कक्षा अध्ययन गर्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो । अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो ।
अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैन र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन । तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए । वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन् । केहीको पुष्टि हुन बाँकी छ । केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन् । किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि यसमा अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ । अहिले दिइएको तथ्यांकमा दुई किशोरीसमेत रहेको अधिकारीहरूले बताए । युवाका विषयमा खासै गम्भीर नबनेको दूतावास किशोरकिशोरीसमेत भेटिएपछि गम्भीर बनेको उल्लेख गर्दै एक अधिकारीले भने, ‘अमेरिकी चासो बढेपछि दूतावास झस्केको हो ।’ यो जानकारी दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा समेत पठाएको छ ।
‘हो, अमेरिका अवैध रूपमा प्रवेश गर्नेमा माइनर (कम उमेर) समेत परेपछि हामी थप गम्भीर भएका छौं । पहिले पनि जालो तोड्न हामीले मेहेनत गरेका हौं तर सकिएको छैन, प्रयास जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले कान्तिपुरसँग भने । उनले अमेरिकी सरकार र दक्षिण अमेरिकी सरकारको सहयोगबिना मानव तस्करीको जालो तोड्न सहज रहेको उल्लेख गर्दै भने, ‘अब यसलाई कसरी रोक्ने भन्ने विषयमा अमेरिका, दक्षिण अमेरिकी तथा अफ्रिकी मुलुकसँग छलफल अघि बढाउन आवश्यक छ ।’