झापाबाट ओलीको नयाँ बोली- कांग्रेसलाई पत्याउनु भनेको मूर्ख बन्नु हो


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

१६ कात्तिक,झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र धोखाको जन्म सँगै भएको भन्दै कांग्रेसका कुरा पत्यानु जस्तो मुर्ख बन्नुबाहेक अरु केही नहुने टिप्पणी गरेका छन् ।

झापामा संयुक्त गठबन्धनका उम्मेदवार मनोनयनपछि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने-कांग्रेस र धोखा सँगै जन्मिएका हुन् । कांग्रेसलाई पत्याउनु भनेको आफैं मूर्ख बन्नु हो ।

झापा-३ मा वामपन्थी गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरिएको सन्दर्भमा कार्यकर्ताका असन्तुष्टि सम्बोधन गर्दै ओलीले एक सिट गयो भनेर चित्त नदुःखाउन आग्रह गरे । उनले देश बनाउने अभियानमा सबैलाई समेट्न खोज्दा लिङ्देनलाई समर्थन गरिएको बताए ।

एमालेको २० हजार मत रहेको झापा ३ मा १२ हजार मत रहेको राप्रपालाई छाडेको भन्दै एमालेभित्र असन्तुष्टि पैदा भएका बेला ओलीले उम्मेदवार मनोनयनकै दिन साम्य पार्ने प्रयास गरे । उनले भोट र सिट गनेर नबस्न एमालेका कार्यकर्तालाई आह्वान गरे ।

ओलीले भने- ‘म एमालेका कार्यकर्तालाई आग्रह गर्छु, तपाईहरु भोट गनेर नबस्नुस । राजनीतिको हिसाब गर्नुस, देश बनाउने कुरा गर्नुस ।’ उनले थपे, ‘भोट गन्ने हो भने त जहाँसुकै एमाले जित्छ, भोट गनेर बस्ने हो भने त एक्लै हिड्नुपर्छ । तर हामी देश बनाउन सबैलाई सँगै लिएर जान खोज्दैछौं । त्यसैले गठबन्धनका उम्मेवार जिताउँ ।’

उनले गठबन्धनका उम्मेदवार सबैलाई आफ्नै ठानेर मतदान गर्न एमाले कार्यकर्तालाई आह्वान गरे । ओलीले भने- ‘माओवादीसँग त हामीले पार्टी एकतानै गर्ने भइसक्यौं । राप्रपाका लिङ्देनजीहरु केही दिन कांग्रेसलाई पत्याएर मूर्ख बन्नुभयो, अब हामीसँगै आउनुभएको छ ।’

उनले धेरै योगदान गरेका व्यक्तिहरुले टिकट नपाएको स्वीकार गर्दै योगदान र गणितले मात्र राजनीति नचल्ने बताए । एमाले कार्यकर्ताको योगदान र बलिदानको कदर इतिहासले गर्ने उनले बताए ।

देउवाप्रति आक्रामक

ओली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाविरुद्ध पनि आक्रामक ढंगले प्रस्तुत भए ।

देउवाले वामपन्थी गठबन्धनले जिते देशमा अधिनायकवाद आउँछ भनी दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित थिए ।

देउवालाई जवाफ दिँदै उनले भने- ‘यो देशमा लोकतन्त्र र बहुदलीय व्यवस्था ल्याउन हामी जेलनेल र आन्दोलनमा रहँदा शेरवहादुर देउवा पिज्जा खाएर लण्डनका गल्ली घुम्दै थिए । आन्दोलन सकिएपछि आएर नेता बन्नेको यत्रो फूर्तिफार्ति ?’

एमालेलाई लोकतन्त्रको प्रमाणपत्र कसैले दिनु नपर्ने भन्दै ओलीले लोकतन्त्रका आधारभूत मान्यतालाई कांग्रेसले कहिल्यै स्वीकार नगरेको आरोप लगाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com