न्यूयोर्क हमलाकारीमाथि आतंकवादको अभियोग


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

अमेरिकी अभियोजनकर्ताहरुले न्यूयोर्कमा कम्तीमा ८ जना मारिने गरी जानाजान ट्रक जोताएका उज्बेकिस्तानबाट आएका आप्रवासीमाथि आतंकवादको अभियोग लगाएका छन्।

आक्रमणपछि प्रहरीको गोली लागेका सेफुलो साइपोभ अदालतमा ह्विलचियरमा उपस्थित भएका थिए।

उनीमाथि ट्रक जोताएको र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्रीहरु उपलब्ध गराएको अभियोग लागेको छ।

अनुसन्धानकर्ताहरुका अनुसार साइपोभले आफूले गरेको हमलाबारे राम्रो महसुस गरेको र मानिसहरु धेरै हुन्छन् भनेर आक्रमणका लागि ह्यालोइनको दिन रोजेको बताएका छन्।

घटना

मंगलबार लोअर म्यानह्याटनमा साइकल लेन र फुटपाथमा ट्रोक जोताएर आक्रमण गरेलगत्तै सेफुलो साइपोभलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएका थिए।

उनलाई त्यसपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो।

उक्त आक्रमणमा परी ६ जनाको घटनास्थलमै र दुईजनाको अस्पतालमा मृत्यु भएको थियो।

अन्य १२ घाइते मध्य ९ जना अझै अस्पतालमा उपचार गराइरहेका छन्।

संघीय अदालतमा लगाइएको अभियोगमा उनले आक्रमणको योजना दुई महिना अघि नै बनाएको बताइएको छ।

ह्यालोइनको दिन सडकमा मानिसहरुको भीड हुने कारणले पनि आफूले नियतवस आक्रमणका लागि त्यही दिन रोजेको उक्त अभियोगमा उल्लेख छ।

आह्वान

उनले आफूले इस्लामिक स्टेटको झण्डा ट्रकमा फहराउन चाहे पनि आफूमाथि अरुको ध्यान केन्द्रित नहोस् भनेर त्यसो नगरेको बताएका छन्।

संघीय जाँच ब्यूरो एफबीआईले यही घटनासँग सम्बन्धित प्रश्नहरु गर्न खोजिरहेका उज्बेकिस्तानकै अर्का व्यक्तिको पनि ठेगाना आफूहरुले पत्ता लगाएको बताएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कको जस्तो हमला गर्ने व्यक्तिहरुलाई छिटो र कडा कारवाही गर्न आह्वान गरेका छन्।

उनले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने “डाइभरसीटी भिसा (डीभी)” प्रणाली रद्द गर्न पनि आह्वान गरेका छन्।

न्यूयोर्क हमलाका संदिग्ध उक्त कार्यक्रमअन्तर्गत नै अमेरिका प्रवेश गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com