न्युयोर्कमा राष्ट्रसंघ मुख्यालयअगाडि तिब्बती अभियन्ताले गरेआत्मदाह


प्रकाशित मिति : २० असार २०८३, शनिबार

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयबाहिर तिब्बती झण्डा बोकेर एकजना व्यक्तिले आत्मदाह गरेका छन्।

मृतक ती व्यक्ति तिब्बती अभियन्ता रहेको बताइएको छ। यो घटना चीनको तिब्बतमाथिको शासनको विरोधस्वरूप गरिएको प्रदर्शन भएको प्रारम्भिक अनुमान गरिएको छ।

न्युयोर्क प्रहरी विभागका अनुसार ५२ वर्षीय ती पुरुषको शरीरको अधिकांश भाग जलेको अवस्थामा फेला परेको थियो। उनलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको नाम लोब्गा राङ्जेन (लोबसाङ पाल्देन) रहेको निर्वासित तिब्बती सरकार तथा न्युयोर्कका एक तिब्बती अभियन्ताले पुष्टि गरेका छन्।

उनकै नाममा रहेको फेसबुक खाताबाट प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा ती व्यक्ति तिब्बती झण्डा बोकेर संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि रहेको फर्स्ट एभिन्युमा पुगेपछि अचानक आफूमाथि आगो लगाएको देखिन्छ।

आगोले घेरिएपछि उनी सडकमा ढलेका थिए। पछि दुई जनाले आगो निभाउने उपकरण प्रयोग गरेर आगो नियन्त्रणमा लिएका थिए।

घटनाभन्दा केही समयअघि सोही फेसबुक खातामा सार्वजनिक गरिएको अर्को भिडियोमा उनले तिब्बतीहरूलाई “तिब्बतको स्वतन्त्रताका लागि एकजुट हुन” र आफ्नो पहिचान, संस्कृति तथा सम्पदालाई “कहिल्यै नबिर्सन” आग्रह गरेका थिए।

उनले चीन सरकारले तिब्बती पहिचान, संस्कृति र भाषालाई समाप्त पार्ने उद्देश्यले नीतिहरू लागू गरिरहेको आरोप पनि लगाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटना चीनले केही दिनअघि मात्रै लागू गरेको जातीय एकता कानुनपछि भएको हो। उक्त कानुनले अल्पसंख्यक जातीय क्षेत्रका विद्यालय तथा सरकारी निकायमा चिनियाँ भाषाको प्रयोगलाई थप विस्तार गर्ने तथा धर्मको थप “चिनियाँकरण” गर्ने व्यवस्था गरेको छ।

तिब्बती तथा मानवअधिकार अभियन्ताहरूले उक्त कानुनले चीनका जातीय अल्पसंख्यक समुदायको भाषा, संस्कृति र पहिचानमाथिको दबाब अझ बढ्ने चिन्ता व्यक्त गरेका छन्। यद्यपि चीनले भने उक्त कानुनले सबै जातीय समूहका अधिकारको संरक्षण गर्ने दाबी गर्दै आएको छ।

सन् १९५१ देखि चीनको कम्युनिस्ट पार्टीले तिब्बतमाथि शासन गर्दै आएको छ। बेइजिङले तिब्बत प्राचीनकालदेखि नै चीनको अभिन्न भूभाग रहेको दाबी गर्दै आएको छ। चीनमा तिब्बती झण्डा प्रतिबन्धित छ र त्यसलाई तिब्बती स्वतन्त्रताको प्रतीकका रूपमा हेरिन्छ।

निर्वासित तिब्बती सरकारका अनुसार पछिल्ला दशकहरूमा चीनको तिब्बतमाथिको शासनको विरोधमा दर्जनौँ आत्मदाहका घटना भएका छन्। तर अमेरिकामा कुनै तिब्बती अभियन्ताले यस प्रकार आत्मदाह गरेको घटना भने अत्यन्त दुर्लभ मानिएको छ।

निर्वासित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै तिब्बतीहरूलाई आफ्नो जीवनको संरक्षण गर्न आग्रह गरेका छन्।

न्युयोर्कस्थित तिब्बती अभियन्ता समूहले सार्वजनिक गरेको भिडियोमा प्रख्यात तिब्बती लेखक जाम्याङ नोर्बुले लोब्गा राङ्जेनलाई तिब्बती स्वतन्त्रताका अभियन्ता तथा सामुदायिक नेता भएको बताएका छन्।

उनका अनुसार उनी सन् १९८० को दशकमा तिब्बतबाट निर्वासनमा गएका थिए र पछि न्युयोर्कमा ट्याक्सी चालकका रूपमा कार्यरत थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com