क्यापिटल हिलमा नेपाली चेली प्राशा तुलाधरको एड्भोकेसी, नेपालका स्वास्थ्यमन्त्रीलाई पनि सुझाव


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

आफूले नयाँ जीवन पाएपछि अरुको जीवन बचाउन लविङ

फोक्सो प्रत्यारोपणपछि नयाँ जीवन पाएकी न्युयोर्क निवासी नेपाली प्राशा तुलाधरले वासिंटन डिसीको क्यापिटोल हिल पुगेर अमेरिकी संसदका सदस्यहरु र उनीहरुका प्रतिनिधीहरुसँग अंग प्रत्यारोपणलाई सहज र सबैको पहुमा बनाउन  प्रत्यारोपणसम्बन्धि उपयुक्त कानुनको आवश्यकताबारे छलफल गरेकी छिन् । अमेरिकामा अंग प्रत्यारोपणपछि नयाँ जीवन पाएका केही नेपालीहरुमध्ये प्राशा एक हुन् ।

भेटघाटहरुमा प्राशाले स्क्लेरोडोर्मा र फिब्रोसिस रोगसँग सम्बन्धित प्रत्यारोपणलाई सहज बनाउन आवश्यक उपयुक्त कानुनका पक्षमा एड्भोकेसी गरेकी हुन् । छलफलका क्रममा थप अनुसन्धानका लागि सहयोग गर्ने वाचा प्राप्त भएको प्राशाले बताइन् ।

आफूले सिनटेर गिलब्राण्ड र सिनेटर शुमेरको कार्यालयमा पुगेर फोक्सो प्रत्यारोपणमा आफ्नो अनुभव सुनाएको प्राशाले बताइन् । उनले भनिन् -‘स्क्लेरोडोर्मा रोगबाट कसरी महिला (खासगरी बच्चा जन्माउने उमेरका महिला) र बच्चाहरु प्रभावित छन् भन्नेबारेमा मेरो जोड थियो ।’

अमेरिकन एसियनको प्रतिनिधित्व गर्दै प्राशा न्युयोर्कबाट अमेरिकी राजनीतिज्ञ र उनीहरुका प्रतिनिधीहरुलाई भेट्न वासिंटन डिसी गएकी थिइन् । न्युयोर्कमा रहेको स्क्लेरोडोमा फाउण्डेशन ट्राई स्टेट च्याप्टरबाट प्रतिनिधित्व गरेर क्यापीटल हिल पुगेकी प्राशालाई अमेरिकी राजनीतिज्ञहरुले पोफेशनल एड्भोकेट को रुपमा पाएको बताएका थिए ।

‘पहिलो पटक मैले प्रत्यारोपणलाई सबैको पहुँचमा लैजाने सम्बन्धि कानुन पारित गर्न सघाउने व्यक्तिहरुलाई भेटें । पहिलोपटक मलाई कसैले प्रोफेशनल एड्भोकेटको संज्ञा दियो । पहिलोपटक मैले आफूलाई एसियन अमेरिकनको रुपमा परिचित गराएँ । पहिलो पटक मैले भविश्यको बारेमा कुरा गरेको मान्छेहरुले बताए । पहिलोपटक कसैले मलाई रोजगार दिनसक्ने बताए । पहिलोपटक मैले आफ्नो आवाज सम्बन्धित निकायमा सुनिने बनाएँ ।’ – प्राशाले भेटघाटबारे आफ्नो अनुभव बताइन् ।

अंग प्रत्यारोपण सबैको पहुँचमा लैजाने गरी सुधार गरिएको कानुन कार्यान्वयनको तहमा पुगिसकेको प्राशाले जानकारी दिइन् । सन् २०१२ मा बिरामी भएपछि उपचाररत प्राशाले फोक्सो प्रत्यारोपणपछि मात्र आफू चारबर्षपछि भ्रमणमा निस्किएको बताइन् । अमेरिकामा राजनीतिक स्तरमा अंग प्रत्यारोपणलाई सबैको पहँचमा र सहज बनाउन लविङ गरिरहेकी प्राशाले नेपालको स्वास्थ्य क्षेत्रमा पनि परिवर्तनका लागि आफ्नो तर्फबाट लागिपर्ने र नेपालीहरुका लागि धेरै काम गर्नसक्ने आशा व्यक्त गरिन् । उनले स्वास्थ्यमन्त्री गगन थापालाई सन्देश दिदै भनिन् -‘माननीय गगन थापाज्यू, तपाईले अब मलाई पनि सामना गर्नुपर्ने हुनसक्छ ।’

प्राशाले दुबै फोक्सो बिग्रिएका नेपालका ४७ बर्षीय विनोद थापा र उनीजस्ता प्रत्यारोपण आवश्यक पर्ने बिरामीलाई सहयोग गर्न एवं त्यसका पक्षमा आवश्यक नीति निर्माण गर्न स्वास्थ्यमन्त्रीलाई सुझाव दिएकी छिन् । दुबै फोक्सो बिग्रिएका काठमाडौं निवासी ४७ बर्षीय विनोदकुमार थापा विगत ८ बर्षदेखि प्रत्यारोपणको प्रतिक्षामा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com