महान आमा, जसले छोरीलाई ‘भीरमा फालेर’ बचाइन् !


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

माथिको तस्वीरमा दुईवटा दृश्य देखिन्छन् । पहिलो दृश्य सोमबार उदयपुरमा भीरबाट खसेर एकै डल्लो बनेको सुमो गाडीको हो । र, दोस्रो दृश्यचाहिँ विभत्स दुर्घटनामा परेर बाँच्न सफल ३ वर्षीया अवोध बालिका क्रिष्टिना राईको हो ।

भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ । ओखलढुंगा बिसंखुगढी निवासी अञ्जना राई यस्तै महान आमा सावित भएकी छिन्, जसले भीरबाट खस्दै गरेको गाडीबाट आफ्नी छोरीलाई फुत्त बाहिर मिल्काएर बचाइन् । र, आफूचाहिँ जीपसँगै गुल्टिएर रसातलमा अलप भइन् ।

‘छोरीलाई छाडेर तिमी कहाँ गयौं अञ्जना ? भाइटीका सकेर आजै बेलुका घर आइपुग्छु भन्थ्यौ, सधैंका हामीलाई छाडेर तिमी कहाँ गयौ ?’ कटारी अस्पतालमा अञ्जनाको शव अगाडि भक्कानिँदै उनका श्रीमानले यसरी विलौना गर्दा सोमबार अस्पतालमा केहीबेर सन्नाटा छायो ।

अञ्जनाको शवलाई कात्रोले बेरेको राखिएको थियो । बिसंखुगढी गाँउपालिका ७ बस्ने ३२ वर्षे श्रीमान जगत राई शवको छेउमा बसेर छाती पिट्दै ३ वर्षे छोरीलाई समातेर धेरैबेर रोए । यस्तो दारुण दृश्य देखेर छेउछाउमा उभिएका सबैका आँखाबाट बलिन्द्र धारा खसे ।

अघिल्लो दिन दुर्घटनाको खबर सुनेदेखि नै रसाएका कटारीबासीका आँखा जगत राईलाई देखेपछि थप रसाए । महिला दिदीबहिनीले घुँक्कघुँक्क गर्दै सामुहिक रोदनमार्फत मृतकप्रति श्रद्धाञ्जली प्रकट गरे ।

दुर्घटनामा परेकी श्रीमतीको शव बुझ्न ओखलढुंगाबाट कटारी आएका जगत राई श्रीमतीको शव छेउमा बसेर रोइरहँदा कसैले सम्झाउने कोशिस गरेनन् । उनको जोडी फुटाएर दुर्घटनाले लगिसकेको थियो । उनीसँग अब दुई छोरी मात्रै छन् । बेलुका घर आइपुग्छु भनेकी श्रीमतीले अब कहिल्यै नआउने बाटो समातेकी छिन् । आफ्नो साथमा गाडीमै रहेकी छोरीसमेत जगतलाई जिम्मा लगाएर उनी सधैंका लागि विदा भइन् ।

एकातिर छोरी ममी ममी भनिरहेकी थिइन् । अर्कोतिर जगत चिरनिद्रामा रहेकी श्रीमतीलाई बोलाइरहेका थिए । कुनै चलचित्रको छायाँकन भएको भए निर्देशकले कट भनेपछि रोदन रोकिने थियो । तर, त्यो दृश्यमा कसैले कट भन्न सक्ने अवस्था थिएन । त्यहाँ कुनै निर्देशक थिएन ।

सुनसरीमा रहेका भाइहरुलाई भाइटीका लगाउन गएकी ३० वर्षे अञ्जना राईको सोमबार ओखलढुंगा र्फकने क्रममा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भयो । घर र्फकने क्रममा दुर्घटनामा पर्दा उनको साथमा रहेकी ३ वर्षे छोरी क्रिष्टिना राई भने भीरमा फिल्मी शैलीमा सकुशल फेला परिन् ।

जीप सडकबाट ५ सय मिटर तल झरेको थियो । तर, ३ वर्षे बालिका भने भीरमा रोइरहेको अवस्थामा फेला परेकी हुन् ।

उद्धारकर्ता भन्छन्- बच्ची भगवानले बचाए

दुर्घटना भएको थाहा पाउनसाथ उद्धार गर्न पुगेका कटारी नगरपालिका-१४ कुमार प्याकुरेलले ३ वर्षे बालिका क्रिष्टिनालाई उद्धार गरेका हुन् । सडकबाट तीन सय मिटर तल भीरबाट उनले वालिकाको उद्धार गरेको बताए ।

‘सुमो जीप तल मैदानमा कच्याककुचुक परेको थियो,’ उनले भने, ‘भीरमा यत्रतत्र शवहरु छरिएका थिए, तर, भीरमा हेर्दा बच्चा रोएको सुनें, अनि गएर उद्धार गरेँ ।’

कटारी अस्पतालमा बुबा जगतलाई बच्ची जिम्मा लगाइसकेपछि प्याकुरेलले भने, ‘भगवानले बचाएको यो बच्चीलाई ।’

दुर्घटनास्थलमा पुगेका प्रहरीका अनुसार जीप भीरबाट खस्नासाथ आमाले छोरी फ्याँकिदिएको हुनुपर्छ । आमाहरुमा आफू मरेर पनि छोराछोरी बचाउने शक्ति हुन्छ रे ।’

कटारी ट्राफिक प्रहरीपोष्टका प्रमुख डम्बर दियालीले भने- ‘आमाले सुरुमै गाडीबाट नफ्याँकदिएको भए बच्ची बाँच्ने सम्भावनै थिएन ।’

दुर्घटनामा यौवना श्रीमती गुमाएका जगतका अब ३ वर्षे क्रिष्टिना र ४ वर्षे छोरी अञ्जलीमात्रै छन् । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका जगतको साहारा लुटिएको छ ।

घुर्मी सडक खण्डमा भएको दुर्घटनामा जगतकी श्रीमती सहित ९ जनाको ज्यान मृत्यु भयो । चालकसहित ११ जना सवार जीपका ८ जनाको घटनास्थलमै मृत्यु भयो । कटारी नगरपालिका २ का चालक हरि कार्कीको उपचारका क्रममा मृत्यु भयो । तीन वर्षे बालिका क्रिष्टिना बाँच्न सफल भइन् ।

यसैबीच दुर्घटनामा घाइते बनेर वीरानगर पुर्‍याइएकी ओखलढुङ्गा बरुणेश्वर-७ बस्ने १८ वर्षीया कुमारी भित्रिकोटीको अझै होस आएको छैन ।

जीर्ण बन्दै सिद्धिचरण लोकमार्ग

इप्रका कटारीका डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार चालककै मृत्यु भएकाले कसरी दुर्घटना भयो भन्ने एकीन गर्न सकिने अवस्था छैन ।’ डीएसपी श्रेष्ठले भने- ‘ओरालो बाटो भएकाले चिप्लिएर दुर्घटना भएको हुन सक्छ ।’

कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको जीप दुर्घटना भएको थियो । सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्डमा ना.१.ज. ३४०४ नम्बरको जीप दिउँसो करिव १ः३० बजेतिर दुर्घटनामा परेको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुंगा र सोलुखम्बु जोड्ने सिद्धिचरण राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएकाले सवारी दुर्घटना बढिरहेको छ ।

समय समयमा मर्मत नहुँदा जीर्ण बनेको यो सडकमा वर्षेनी २० देखि ३० जनाले ज्यान गुमाउने गरेको कटारीका ट्राफिक प्रहरी प्रमुख डम्बर दियाली बताउँछन् ।

दियालीका अनुसार कटारी-घुर्मी जम्मा ४६ किलोमिटर सडक पार गर्न मालबाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई तीन घण्टा भन्दा बढी लाग्ने गरेको छ । अनि त्यही सडकमा हाइ स्पिडमा सुमो कुदाउँदा अन्यन्त्रित भई दुर्घटनामा हुने गरेको छ ।

सिरहाको मिर्चैया हुँदै ०३४ सालमा यो सडक उदयपुरको कटारी जोडियो । त्यसपछि कटारी-ओखलढुंगा सडक निर्माण सुरु भयो । यसैक्रममा ०५८ सालमा कटारी-घुर्मी सडकमा पनि यातायात सञ्चालन भयो । अहिले यो सडकबाट सीधा यातायात खोटाङ, ओखलढुंगा र सोलुखम्बुसम्म जोडिएको छ ।

सडक बनाउने तर मर्मत नगर्ने प्रवृत्तिका कारण सर्वसाधारणले यो सडकमा सास्ती खेप्नु परिरहेको छ ।

खोटाङको चर्चित हलेसीस्थित धार्मिक क्षेत्रमा आउने पर्यटनहरुको बाटो समेत यही हो । ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मीमा पर्ने सुनकोशीमा पक्की पुल बनेपछि ओखलढुगा-सोलुसम्बु सिधै जोडिएका छन् ।

ओखलढुंगा र सोलुखुम्बुलाई मध्यपहाडी लोकमार्गले राजधानी लगायत पश्चिम नेपालसँग जोडे पनि तराई-मधेस जोड्ने एक मात्रमार्ग यही सिद्धिचरण राजमार्ग नै हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com