२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अमेरिकामा ‘मध्यम वर्ग’ बन्न कति चाहिन्छ आम्दानी? नयाँ प्रतिवेदन सार्वजनिक

Photo/ Sasun Bughdaryan /Unsplash

अमेरिकामा कतिपय नागरिकहरू धनी बनेर भव्य महलमा बस्ने सपना देख्छन्, तर धेरैको चाहना मध्यम वर्गीय जीवन बिताउने मात्र हुन्छ। आखिर, मध्यम वर्गको श्रेणीमा पर्नका लागि वार्षिक आम्दानी कति हुनुपर्छ त? हालै ‘स्मार्टएसेट’ ले सार्वजनिक गरेको एक अध्ययनले अमेरिकाका प्रत्येक राज्य र १०० वटा ठूला सहरहरूको मध्यम वर्गीय आयको दायरा सार्वजनिक गरेको छ।

जर्जिया र अटलान्टाको अवस्था प्रतिवेदन अनुसार जर्जिया राज्यमा मध्यम वर्गमा पर्नका लागि वार्षिक आम्दानी कम्तीमा ५३,३२७ डलरदेखि बढीमा १,५९,९८२ डलरसम्म हुनुपर्छ। यहाँको औसत पारिवारिक आम्दानी ७९,९९१ डलर रहेको छ। त्यस्तै, जर्जियाको प्रमुख सहर अटलान्टामा मध्यम वर्गमा पर्नका लागि न्यूनतम ५८,७७७ डलरदेखि अधिकतम १,७६,३३० डलरसम्म कमाउनुपर्ने हुन्छ।

सबैभन्दा महँगा र सस्ता राज्य तथा सहरहरू मध्यम वर्गीय जीवनयापनका लागि अमेरिकाकै सबैभन्दा महँगो राज्य म्यासाचुसेट्स देखिएको छ, जहाँ मध्यम वर्गमा पर्न ६९,८८५ डलरदेखि २,०९,६५६ डलरसम्म आम्दानी हुनुपर्छ। सहरतर्फ क्यालिफोर्नियाको ‘सान होजे’ सबैभन्दा महँगो साबित भएको छ, जहाँ वार्षिक न्यूनतम ९८,८१७ डलर कमाउनेहरू मात्र मध्यम वर्गमा पर्छन्।

अर्कोतर्फ, मिसिसिपी राज्य (न्यूनतम ३९,४१८ डलर) र ओहायोको क्लिभल्याण्ड सहर (न्यूनतम २८,९२२ डलर) मध्यम वर्गका लागि सबैभन्दा सस्ता स्थानका रूपमा देखिएका छन्।

अध्ययनको विधि स्मार्टएसेटले अमेरिकी जनगणना ब्यूरोको ‘सन् २०२४ को अमेरिकी सामुदायिक सर्भे’को तथ्याङ्क प्रयोग गरेर यो प्रतिवेदन तयार पारेको हो। यसमा ‘प्यु रिसर्च सेन्टर’को मापदण्डलाई आधार मानिएको छ, जसअनुसार देशको औसत आम्दानीको दुई-तिहाइदेखि दोब्बरसम्म कमाउनेहरू मध्यम वर्गमा पर्छन्।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →