विश्वकप फुटबल: लामो प्रतीक्षापछि इजिप्टको पहिलो जित, पुग्यो शीर्ष स्थानमा


प्रकाशित मिति : ८ असार २०८३, सोमबार

फोटो :एपी/रासस

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को खेल जित्दै इजिप्ट अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बीसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो।

इजिप्टको जितमा मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेग्वेटले एक-एक गोल गरे। खेलमा पहिलो अग्रता भने न्युजिल्यान्डले लिएको थियो।

खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सम्र्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, न्युजिल्यान्डको त्यो १–० को अग्रता खेलको पहिलो हाफसम्म मात्र कायम रह्यो।

खेलको ५८औँ मिनेटमा इजिप्टका जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यस्तै, खेलको ६७औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। यसपछि खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।

सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ९२ वर्षको लामो प्रतीक्षापछि प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको छ। यो इजिप्ट जस्तो गर्विलो फुटबल राष्ट्रको इतिहासमा एक अविस्मरणीय क्षण हो।

जितसँगै इजिप्ट दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। यससँगै इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना प्रबल बनेको छ।

यस समूहमा रहेका इरान र बेल्जियमको समान दुई अङ्क छ भने न्युजिल्यान्डको एक अङ्क रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com