राष्ट्रपति ट्रम्पद्वारा रिफ्लेक्टिङ पुलको हवाई निरीक्षण, तत्काल मर्मत कार्य सुरु हुने
Photo:Stephanie Rhee / Unsplash
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित ऐतिहासिक ‘रिफ्लेक्टिङ पुल’को निरीक्षण गरेको र यसको मर्मतका लागि तत्काल काम सुरु हुने बताएका छन्। हालै मात्र लाखौँ डलर खर्च गरेर नयाँ निलो रङ लगाउनेसहित यसको जीर्णोद्धार गरिएको भए पनि यस ऐतिहासिक संरचनामा समस्याहरू देखिन छाडेका छैनन्। विशेष गरी लेउका कारण पोखरीको पानी चम्किलो हरियो रङमा परिणत भएको छ।
क्याम्प डेभिडबाट फर्कने क्रममा आइतबार हेलिकप्टरबाट उक्त स्थलको हवाई निरीक्षणका क्रममा यो महिनामा मात्रै पोखरीको पानी दोस्रो पटक पूर्ण रूपमा खाली गरेर पुनः भर्नुपर्ने स्थिति आउन सक्छ। आगामी जुलाई ४ मा मनाइने अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा केही उपद्रवीहरूले पोखरीको नयाँ रङ बिगारेको दाबी ट्रम्पले गरेका छन्।
वासिङ्टन डीसीका लागि अमेरिकी सरकारी अधिवक्ता जीनिन पिरोले पोखरीमा क्षति पुर्याउने जोकोहीलाई पनि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। तोडफोड गर्ने वा तोडफोडको प्रयास गर्ने जोकोहीले पनि डीसीको फौजदारी न्याय प्रणालीको सामना गर्नुपर्नेछ।
एक वरिष्ठ ट्रम्प प्रशासन अधिकारीका अनुसार शनिबार राति तोडफोडको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ भने अन्य पाँच जनालाई प्रहरीले पुर्जी जारी गरेको छ। प्रहरीमा दर्ता भएका कुल १४ वटा उजुरीमध्ये एक व्यक्तिले ब्लेड वा धारिलो हतियार प्रयोग गरेर “यस सुन्दर संरचनाको मोहडामा २५० फिट लामो गहिरो चोट बनाएको” ट्रम्पको दाबी छ।
यद्यपि, नेशनल मलमा गस्ती गर्ने संघीय प्रहरी निकाय ‘यूएस पार्क पुलिस’ ले पक्राउ परेकाहरूको संख्याबारे सोधिएको इमेलको कुनै जवाफ दिएको छैन। सन् १९२० को दशकमा निर्माण गरिएको र लिंकन मेमोरियलदेखि वासिङ्टन मोनुमेन्टसम्म २,०३० फिट लामो फैलिएको यो रिफ्लेक्टिङ पुल लामो समयदेखि पानी चुहिने, संरचनात्मक ह्रास, पाइपमा खराबी, लेउ जम्ने र चराचुरुङ्गीको दिसाका कारण समस्याग्रस्त बन्दै आएको छ।
१ करोड ३० लाख डलरको ठूलो लागतमा गरिएको मर्मतका बाबजुद पोखरीमा लेउ र रङ उप्किने समस्या दोहोरिएको छ। सञ्चारमाध्यम र आगन्तुकहरूले पोखरीको भुइँबाट नयाँ रङका टुक्राहरू उप्किरहेका तस्बिर तथा भिडियोहरू सार्वजनिक गरेका छन्।
आइतबार ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, गम्भीर रूपमा तोडफोड गरिएको रिफ्लेक्टिङ पुलको मर्मत कार्य तुरुन्तै सुरु हुनेछ। मैले भर्खरै यसको निरीक्षण गरेँ र आफू तथा वरपरका मानिसहरूलाई मात्र यति भन्न सकेँ-वाउ, यस्तो काम कसले गर्न सक्छ? कस्ता बिरामी र विकृत मानसिकता भएका मानिसहरू!
राष्ट्रपतिका साथमा यात्रा गरिरहेका पत्रकारहरूका अनुसार ट्रम्पको यो पोस्ट उहाँ मेरिल्यान्डस्थित राष्ट्रपतीय निवास क्याम्प डेभिडमा वीकेन्ड बिताएर ह्वाइट हाउसतर्फ फर्कने क्रममा हेलिकप्टरबाट गरिएको थियो। उनले स्थलगत रूपमा पोखरीको भ्रमण नगरी आकाशबाटै यसको निरीक्षण गरेको बुझिएको छ।
शुक्रबार प्रहरीले एक पूर्व ओलम्पिक खेलाडीलाई पोखरी तोडफोड गरेको आरोपमा पक्राउ गरेको छ। ओलम्पिकका च्याम्पियन डुङ्गाचालक डेभिड “डेभी” हर्नले भने आफूले कुनै गल्ती नगरेको र उप्किरहेको रङलाई केवल छोएको मात्र दाबी गरे।मैले रङको कुनै पनि भाग बिगार्ने, च्यात्ने वा उप्काउने काम गरेको छैन। मेरो आगमनले पोखरीको अवस्थामा कुनै परिवर्तन आएको थिएन।उनले आफ्नो पक्राउलाई “मनपरी र पूर्वाग्रहपूर्ण” कदम भनेका छन्।
यसै महिना रङ लगाएर पुनः पानी भरिएपछि पोखरीमा फैलिएको हरियो लेउ सफा गर्न अधिकारीहरूले ‘हाइड्रोजन पेरक्साइड’ लगायतका रसायनहरू प्रयोग गरिरहेका छन्। यसैबीच, सप्ताहन्तमा एक समाचार फोटोग्राफरले पोखरीमा एउटा हाँसको चल्ला मरेको अवस्थामा फेला पारेका थिए। उक्त चल्लाको मृत्यु कसरी भयो र पोखरी सफा गर्ने केमिकलका कारण त्यो मरेको हो कि होइन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।
जर्ज मेसन विश्वविद्यालयकी जल-पारिस्थितिकी प्राध्यापक रोजालिना स्टान्चेभा क्रिस्टोभाले जुन १६ मा पोखरीको पानीको नमूना परीक्षण गरी त्यहाँ रहेको हरियो लेउ ‘डेस्मोडेस्मस’ प्रजाति भएको पुष्टि गरेकी छन्, जुन मानव वा जनावरका लागि “पूर्ण रूपमा हानीरहित” हुन्छ। यद्यपि, पोखरीमा आउने चराचुरुङ्गीले अन्य हानिकारक ब्याक्टेरियायुक्त लेउ भित्र्याउन सक्ने चिन्ता पनि उनले व्यक्त गरिन्। यो पारिस्थितिक प्रणाली निकै गतिशील हुन्छ र लेउको प्रकृति चाँडै परिवर्तन हुन सक्छ, उनले भनिन, त्यसैले त्यहाँ कस्ता जीवहरू विकास भइरहेका छन् भनेर नियमित अनुगमन गर्न आवश्यक छ।





