श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि स्पेनका प्रधानमन्त्री सान्चेजको सत्ता संकटमा


प्रकाशित मिति : ७ असार २०८३, आइतबार

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ अघि बढाउने आदेश दिएको छ। अदालतको यो आदेशसँगै प्रधानमन्त्री सान्चेज आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन संकटको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्।

भ्रष्टाचारसम्बन्धी विभिन्न अनुसन्धान र कानुनी विवादले सरकारमाथि दबाब बढाइरहेका बेला उनकी पत्नी गोमेजविरुद्ध अदालतले मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो।

न्यायाधीश हुआन कार्लोस पेनाडोले गोमेजलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुन आदेश दिएका छन्। साथै, उनको राहदानी (पासपोर्ट) जफत गरी देश छाड्न प्रतिबन्ध लगाइएको छ। अदालतले उनलाई महिनामा दुई पटक अदालतमा हाजिर हुनुपर्ने व्यवस्थासमेत गरेको छ।

गोमेजमाथि सरकारी रकम दुरुपयोग, पदीय प्रभावको दुरुपयोग (इन्फ्लुएन्स पेडलिङ), व्यावसायिक भ्रष्टाचार तथा सार्वजनिक स्रोतको अनुचित प्रयोग गरेको आरोप लगाइएको छ। अभियोगअनुसार उनले प्रधानमन्त्रीसँगको वैवाहिक सम्बन्धको प्रभाव प्रयोग गरेर म्याड्रिडस्थित विश्वविद्यालयमा आफ्नो व्यावसायिक र प्रशासनिक पहुँच विस्तार गरेकी थिइन्।

तर, गोमेज र प्रधानमन्त्री सान्चेज दुवैले यी आरोपहरू अस्वीकार गर्दै आएका छन्। उनीमाथिको यो अनुसन्धान सन् २०२४ मा सुरु भएको थियो। गोमेजलाई सरकारी सुरक्षा उपलब्ध भएकाले उनी देश छाडेर भाग्ने सम्भावना भने न्यून रहेको बताइएको छ।

प्रधानमन्त्री सान्चेजको निकट राजनीतिक घेरामाथि समेत विभिन्न अनुसन्धानहरू जारी छन्। सत्तारुढ स्पेनिस सोसलिस्ट वर्कर्स पार्टी (पीएसओई) को मुख्यालयमा हालै प्रहरीले छापा मारेको थियो। त्यस क्रममा प्रहरीले पार्टीका आर्थिक कागजातहरू जफत गरेको बताइएको छ।

स्पेनमा अर्को आम निर्वाचन आगामी वर्षको अगस्टभित्र हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, धेरै राजनीतिक विश्लेषकहरूले गठबन्धन सरकार त्यसअघि नै ढल्न सक्ने सम्भावना औंल्याएका छन्। सरकारमा सहभागी साना दलहरूले समेत गठबन्धनको भविष्यबारे चिन्ता व्यक्त गर्न थालेका छन्।

हालैका जनमत सर्वेक्षणअनुसार अहिले निर्वाचन भएमा विपक्षी पिपुल्स पार्टी (पीपी) सबैभन्दा ठूलो दल बन्ने सम्भावना छ। उसले अति-दक्षिणपन्थी भोक्स पार्टीसँग मिलेर सरकार गठन गर्न सक्ने अनुमान गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२३ को निर्वाचनपछि पनि धेरैले सान्चेज पुनः प्रधानमन्त्री बन्न नसक्ने अनुमान गरेका थिए। तर, जटिल गठबन्धन निर्माणमार्फत उनले सत्ता जोगाउन सफल भएका थिए। लगभग आठ वर्षदेखि सत्तामा रहेका सान्चेज युरोपेली संघका सबैभन्दा लामो समयदेखि कार्यरत नेतामध्ये एक हुन्। तर, भ्रष्टाचारसम्बन्धी अनुसन्धानहरूको चाङ र बढ्दो राजनीतिक दबाबले उनको राजनीतिक भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com