२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीबीच स्विट्जरल्याण्डमा ऐतिहासिक आणविक वार्ता सुरु

मध्यपूर्व द्वन्द्व अन्त्यसम्बन्धी उच्चस्तरीय वार्ताका लागि स्विट्जरल्याण्डमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेट्न प्रतीक्षारत अमेरिकी उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र जारेड कुशनर । तस्बिर:नाथन हावार्ड/एपी/रासस

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका वरिष्ठ अधिकारीहरूबीच आइतबार स्विट्जरल्याण्डको लुकर्नमा औपचारिक आणविक वार्ता सुरु भएको छ । यो वार्ता मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न र महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्म्युज’ खुला राख्नका लागि गरिएको अन्तरिम सम्झौतामा आधारित छ ।

गत हप्ता मात्रै यस सम्झौताको प्रारम्भिक खाका तयार भएको थियो । अहिले दुवै देशका शीर्ष वार्ताकारहरू आगामी ६० दिनभित्र यसका जटिल प्राविधिक विवरणहरूमा सहमति जुटाउने प्रयासमा छन् । यस वार्ताको नतिजाले विश्व अर्थव्यवस्था र सुरक्षामा ठूलो प्रभाव पार्नेछ ।

वार्ता सुरु भए तापनि लेबनानमा इजरायलको निरन्तर आक्रमणबाट इरान आक्रोशित छ । इरानले विश्वको एक-चौथाई तेल र ग्यास ओसारपसार हुने ‘स्ट्रेट अफ हर्म्युज’ जलमार्ग बन्द गरेको दाबी गरेको छ । यद्यपि, अमेरिकी सेनाले भने यो मार्ग अझै खुला रहेको र आफूहरूले निगरानी गरिरहेको बताएको छ ।

अमेरिकी टोलीमा उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ सहभागी छन् । यो वार्तालाई सफल बनाउन पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् ।

इरानी राष्ट्रपति मसउद पेजेस्कियानले इरानले युरेनियम प्रवर्द्धन गर्ने आफ्नो अधिकार कहिल्यै नत्याग्ने अडान दोहोर्‍याएका छन् । अर्कातर्फ, इजरायल र हिजबुल्लाह यस सम्झौतामा सहभागी नभएकाले लेबनानमा हुने सम्भावित भिडन्तले यो कूटनीतिक प्रयासलाई जुनसुकै बेला संकटमा पार्न सक्ने देखिन्छ ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →