२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अमेरिकामा कागजातविहीन आप्रवासी र रोजगारदातामाथि कडा कानुन: जरिवाना दोब्बर पारिने

brown wooden stand with black background

Photo by Tingey Injury Law Firm

अमेरिकी सिनेटर माइक लीले अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्ने आप्रवासीहरू र उनीहरूलाई काममा राख्ने व्यवसायहरूमाथि लाग्ने आर्थिक जरिवाना दोब्बर बनाउने तयारी गरेका छन् । अमेरिकामा बढ्दो आप्रवासनका असरहरूलाई रोक्न उनीसहितका रिपब्लिकन नेताहरूले यो नयाँ विधेयक अगाडि सारेका हुन् ।

सिनेटर लीले ‘इलिगल इमिग्रेसन कस्ट रिकभरी एक्ट’ मार्फत यो जरिवाना बढाउन लागेका हुन् । अवैध आप्रवासीहरूका कारण अमेरिकी नागरिकहरूका लागि लक्षित सार्वजनिक सेवा, सुविधा र विद्यालयहरूमा ठुलो आर्थिक भार थपिएको र त्यसको बिल अमेरिकी जनताले तिर्नु परिरहेको दाबी लीले गरेका छन् ।

यो नयाँ कानुन लागू भएमा अमेरिकामा अवैध रूपमा प्रवेश गर्दा लाग्ने आधारभूत जरिवाना $१००–$५०० बाट बढेर $२०0–$१,००० पुग्नेछ । त्यस्तै, देश छोड्ने आदेश पाउँदा पनि नजाने आप्रवासीहरूलाई लाग्ने जरिवाना $९९८ बाट बढाएर $१,९९६ पुर्‍याइनेछ ।

विधेयकले अवैध आप्रवासीहरूलाई काम दिने कम्पनी वा रोजगारदातालाई पनि ठुलो कारबाहीको दायरामा ल्याउनेछ । पहिलो पटकको गल्तीमा रोजगारदातालाई लाग्ने जरिवाना अधिकतम $५,७२४ बाट बढेर $११,४४८ पुग्नेछ । दुई पटकभन्दा बढी यस्तो गल्ती दोहोर्‍याउने व्यवसायलाई $५७,२३८ सम्म जरिवाना हुन सक्नेछ ।

यद्यपि, यो जरिवाना आप्रवासीहरूबाट कसरी असुल गरिनेछ भन्ने कुरा विधेयकमा स्पष्ट खुलाइएको छैन । सिनेटर ली आफैँले पनि इतिहासमा यस्ता जरिवानाहरू विरलै मात्र उठ्ने गरेको स्वीकार गरेका छन् । विधेयकका मुख्य प्रस्तावक सिनेटर रिक स्कटले भने यसले कर तिर्ने र नियम मान्ने मिहिनेती अमेरिकीहरूको हित गर्ने दाबी गरेका छन् ।

यसैबीच, ट्रम्प प्रशासनले गत वर्ष देखि अवैध आप्रवासीहरूलाई जरिवानाको जानकारी गराउन एउटा छिटोछरितो प्रक्रिया सुरु गरेको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार डोनाल्ड ट्रम्प सत्तामा फर्किएयता करिब १०,००० जरिवाना नोटिस जारी भइसकेका छन्, तर त्यसबाट कति रकम संकलन भयो भन्ने खुलाइएको छैन ।

सिनेटर लीले यो जरिवाना विधेयक बाहेक मतदाताहरूले मतदान गर्नुअघि नागरिकताको प्रमाण अनिवार्य देखाउनुपर्ने ‘सेभ अमेरिका एक्ट’ का लागि पनि दबाब दिइरहेका छन् । आलोचकहरूले यसले वैध मतदातालाई समेत मताधिकारबाट वञ्चित गर्न सक्ने चिन्ता जनाएका छन् भने कतिपय सांसदहरू यो विधेयक सिनेटबाट पारित हुने सम्भावना कम रहेको बताउँछन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →