अमेरिकाका तीव्र विकासको सूचीमा क्यालिफोर्नियाका ४ सहर
Photo: Venti Views/ Unsplash
अमेरिकामा तीव्र गतिमा आर्थिक विकास र जनसंख्या वृद्धि भइरहेका उत्कृष्ट ७५ सहरहरूको सूचीमा क्यालिफोर्नियाका चारवटा सहर समावेश भएका छन् । वित्तीय प्रविधि कम्पनी ‘स्मार्टएसेट’ को प्रतिवेदन अनुसार दक्षिणी क्यालिफोर्नियाको मेनिफी तथा उत्तरी क्यालिफोर्नियाका रान्चो कोर्डोभा, सान्टा क्लारा र सनिभेल यस सूचीमा परेका हुन् ।
स्मार्टएसेटले अमेरिकाभरिका ६५,००० भन्दा बढी जनसंख्या भएका ४०० भन्दा बढी सहरहरूको अध्ययन गरेको थियो । विगत पाँच वर्षमा ती सहरहरूको आर्थिक उत्पादन, नयाँ आवास निर्माण र रोजगारीका अवसरहरूमा भएको वृद्धिलाई मुख्य आधार मानेर यो वरीयता तय गरिएको हो ।
प्रतिवेदन अनुसार, सिलिकन भ्यालीमा रहेका सान्टा क्लारा र सनिभेल सहरको वार्षिक आर्थिक वृद्धिदर ४.७% पाइएको छ । यस्तै, मेनिफी सहरमा रोजगारी खोज्ने श्रम शक्तिमा ४५% र आवास निर्माणमा २९% को ठूलो वृद्धि देखिएको छ, जसका कारण यो राष्ट्रिय सूचीको ६५ औँ स्थानमा पर्न सफल भयो ।
राष्ट्रिय स्तरमा भने फ्लोरिडा (१९ सहर) र टेक्सस (१८ सहर) सबैभन्दा अगाडि छन्। सूचीको पहिलो र दोस्रो स्थानमा टेक्ससका जर्जटाउन र न्यु ब्राउनफेल्स सहर परेका छन्, जहाँ आवास र रोजगारीको क्षेत्रमा ३०% भन्दा बढीको वृद्धि भएको छ। प्रविधि, बायोटेक र आर्टिफिसियल इन्टेलिजेन्समा लगानी बढेका सहरहरू यो सूचीमा हाबी देखिएका छन् ।





