२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

कठोर बन्दै अमेरिकी अध्यागमन प्रणाली: कानुनी सुरक्षा खोज्ने नाबालिगहरू मारमा

Photo: Sasun Bughdaryan/Unsplash

ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएसँगै संयुक्त राज्य अमेरिकामा आप्रवासीहरू,विशेष गरी एक्लै आएका नाबालिग बालबालिका र किशोरहरूलाई देश निकाला गर्ने प्रक्रियामा निकै तीव्रता दिइएको छ । न्युयोर्कस्थित अध्यागमन अदालतहरूमा भर्चुअल माध्यमबाट हतार-हतार सुनुवाइ गर्दै एकै घण्टामा दर्जनौँ किशोरहरूलाई देश निकाला गर्ने आदेश दिइने गरेको पाइएको छ ।

अध्यागमन अधिकारीहरूका अनुसार, ‘विशेष आप्रवासी युवा’ भिसा र शरणार्थीका लागि आवेदन दिएका हजारौँ बालबालिकाहरू अहिले कानुनी अन्योलमा परेका छन् । विगतमा यस्ता संवेदनशील मामिलाहरूमा बालबालिकाहरूलाई कानुनी प्रक्रिया पूरा नभएसम्म अमेरिकामा बस्ने अनुमति दिइने गरे तापनि, हालैका नयाँ निर्देशिकाहरूले गर्दा उनीहरूको मुद्दालाई ठाडै खारेज गरिँदै छ ।

जस्टिस डिपार्टमेन्टले मुद्दाहरूको छिटो फर्स्योट गर्न दबाब दिएका कारण न्यायाधीशहरूले कानुनी सल्लाहकार बिना नै बालबालिकाहरूको सुनुवाइ गरिरहेका छन् । कतिपय अवस्थामा भाषा अनुवादकको अधिकार समेत त्याग्न लगाएर प्रक्रियालाई हतारमा टुङ्ग्याइने गरिएको छ । यसैबीच, प्रशासनको नीतिसँग असहमत हुने र आप्रवासीप्रति केही नरम दृष्टिकोण राख्ने करिब २०० जना अनुभवी अध्यागमन न्यायाधीशहरूलाई सेवाबाट हटाइएको वा राजीनामा दिन बाध्य पारिएको छ ।

मानवाधिकारवादी र आप्रवासीका पक्षमा वकालत गर्ने वकिलहरूले यस कदमको कडा आलोचना गरेका छन् । उनीहरूका अनुसार, घरेलु हिंसा र दुर्व्यवहारबाट जोगिन एक्लै अमेरिका आइपुगेका बालबालिकाहरूलाई पर्याप्त कानुनी प्रतिरक्षाको मौका समेत नदिई फिर्ता पठाउनु मानव अधिकार र ‘ड्यू प्रोसेस’को घोर उल्लङ्घन हो । यद्यपि, सरकारले भने अमेरिकी नागरिकहरूको हित र कानुनी प्रणालीको प्रभावकारिताका लागि यो कदम आवश्यक रहेको दाबी गरेको छ ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →