ट्रम्प प्रशासनको क्षतिपूर्ति कोषमाथि न्यायाधीशको दबाब,जस्टिस डिपार्टमेन्टद्वारा अस्वीकार
जस्टिस डिपार्टमेन्टले शुक्रबार एक संघीय न्यायाधीशको मागलाई अस्वीकार गरेको छ । न्यायाधीशले करिब १.८ अर्ब डलरको ‘एन्टी-वेपनाइजेसन’ (प्रशासनिक शक्तिको दुरुपयोग रोक्ने भनिएको) कोष पूर्ण रूपमा बन्द भइसकेको कुरा शपथ खाएर प्रमाणित गर्न आदेश दिएका थिए । जस्टिस डिपार्टमेन्टले यो मागले “शक्ति पृथकीकरणको सिद्धान्तमा गम्भीर संकट” पैदा गर्ने तर्क गरेको छ ।
न्यायाधीश लियोनी ब्रिन्केमाले गत हप्ता उक्त कोषमाथि अनिश्चितकालका लागि रोक लगाएकी थिइन् । उनले कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्च, अर्थमन्त्री स्कट बेसेन्ट र एशोसिएट महान्यायाधिवक्ता स्ट्यान्ली उडवर्डलाई “थप कानुनी झन्झटबाट बच्न” उक्त कोष अगाडि नबढ्ने कुराको शपथपत्र (अदालतमा झूटो बोले सजाय हुने गरी) सात दिनभित्र बुझाउन आदेश दिएकी थिइन् ।
तर, जस्टिस डिपार्टमेन्टका वकिलहरूले पूर्व संघीय सरकारी वकिल र अन्यद्वारा दायर गरिएको मुद्दा खारेज गराउनका लागि यस्तो लिखित प्रतिबद्धता आवश्यक नपर्ने जिकिर गरेका छन् । उडवर्डका वरिष्ठ सल्लाहकार एन्ड्रयू ब्लकले अदालतमा दर्ता गरेको कागजातमा लेखेका छन्, “यस्ता घोषणाहरू अनावश्यक छन् र कार्यपालिकाका वरिष्ठ अधिकारीहरूलाई जबरजस्ती गवाही दिन लगाउनुले शक्ति पृथकीकरणको गम्भीर संवैधानिक प्रश्न खडा गर्छ ।
यस मुद्दामा वादी पक्षको प्रतिनिधित्व गरिरहेको संस्था ‘डेमोक्रेसी फरवार्ड’ की अध्यक्ष एवं सीईओ स्काए पेरीम्यानले न्याय विभागको यो कदमलाई “अर्थपूर्ण” भनेकी छन् । उनले भनिन्, “अदालतले एक हप्ताको समय दिँदा पनि कार्यवाहक महान्यायाधिवक्ता र अन्य वरिष्ठ अधिकारीहरूले यो ‘स्लस फन्ड’ (गुप्त वा शंकास्पद कोष) सदाका लागि बन्द भयो र भविष्यमा सञ्चालन हुने छैन भनेर शपथ लिन अस्वीकार गर्नु आफैंमा धेरै कुरा बोल्छ ।
कार्यवाहक महान्यायाधिवक्ता ब्लान्चले गत मे महिनाको मध्यतिर ट्रम्प परिवार र आन्तरिक राजस्व सेवा बीचको सम्झौतापछि यस १.७७६ अर्ब डलरको क्षतिपूर्ति कोषको घोषणा गरेका थिए । संघीय सरकारबाट “हतियार र कानुनी युद्धको शिकार” भएका व्यक्तिहरूलाई औपचारिक माफी र भुक्तानी दिन यो कोष अधिकारप्राप्त हुने उनले बताएका थिए ।
तर, यो रकम कसको खल्तीमा जान्छ भन्ने विषयलाई लिएर दुवै दलका सांसदहरूले यसको तीव्र आलोचना गरे । प्रशासनले यो कोष कुनै राजनीतिक दल विशेषका लागि मात्र नभएको दाबी गरे पनि आलोचकहरूले यो रकम राष्ट्रपति ट्रम्पका सहयोगीहरूलाई पोस्न प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरेका थिए ।
बढ्दो विरोधपछि प्रशासन पछि हट्यो र ब्लान्चले जुनको सुरुमा संसद्मा यो कोष कहिले पनि अगाडि नबढ्ने” बताएका थिए । जस्टिस डिपार्टमेन्टका वकिलहरूले पनि अदालतमा यो कोष अझै स्थापना नै नभएकोले कानुनी चुनौतीहरू अपरिपक्व रहेको दाबी गरेका थिए । तर, न्यायाधीश ब्रिन्केमाले यतिले मात्र नपुग्ने भन्दै लिखित शपथकै माग गरेकी थिइन्, जसलाई जस्टिस डिपार्टमेन्टले अस्वीकार गरिदिएको छ।





