पूर्वएमाले सभासद विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा
प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

१३ कात्तिक, काठमाडौं । फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो ।
०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लड्न चाहेनन् ।
यसपटक चौधरीको नाम समानुपातिक सूचीमा राखेको आफूले जानकारी पाएको कांग्रेस नेता डा. नारायण खड्काले अनलाइनखबरलाई बताए ।
स्रोतका अनुसार चौधरीलाई समानुपातिकको प्राथमिकता सूचीमा राखेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । पार्टीलाई चुनावका लागि आर्थिक सहयोग गर्ने आश्वासनपछि चौधरीलाई समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ ।