अमेरिकाको ५१औँ राज्य बन्ने प्रस्ताव किन गर्यो भेनेजुएलाले अस्वीकार ?
प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज फोटो : एएफपी/रासस
अमेरिकाको ५१औँ राज्य बन्न भेनेजुएलाले अस्वीकार गरेको छ। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो देश अमेरिकाको ५१औँ राज्य बन्ने कुनै योजना नरहेको स्पष्ट पारेकी हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको बताएपछि रोड्रिगेजको प्रतिक्रिया आएको हो। तर ट्रम्पले यो अभिव्यक्ति कुन सन्दर्भमा दिएका हुन् भन्ने स्पष्ट भएको छैन।
रोड्रिगेजले अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र इतिहासको रक्षा गर्न निरन्तर लागिरहने बताइन्। भेनेजुएला कुनै उपनिवेश नभएर स्वतन्त्र राष्ट्र हो भनेर बुझ्न उनले सबैसँग आग्रह गरिन्।
जनवरीमा अमेरिकी सैन्य कारबाहीपछि तत्कालीन राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएपछि रोड्रिगेजले सत्ता सम्हालेकी थिइन्। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले ट्रम्प “यथास्थितिलाई कहिल्यै स्वीकार नगर्ने नेता” भएको बताउँदै रोड्रिगेजले अमेरिकासँग “सहकार्यपूर्ण” व्यवहार गरिरहेको भन्दै प्रशंसा गरिन्।
रोड्रिगेजले भेनेजुएला र अमेरिकाबिच सहकार्य र समझदारीका लागि संवाद भइरहेको बताइन्। यसअघि अदालतमा बोल्दै उनले एसेक्विबो क्षेत्रमाथि भेनेजुएलाको दाबीको पक्षमा तर्क प्रस्तुत गरेकी थिइन्। उनका अनुसार यो विवाद अदालतको निर्णयभन्दा पनि राजनीतिक वार्ताबाट समाधान हुनुपर्छ।
६२ हजार वर्गमाइल क्षेत्रफल भएको एसेक्विबो क्षेत्र गयानाको करिब दुई-तिहाइ भूभागमा फैलिएको छ। यो क्षेत्र सुन, हिरा, काठ लगायत प्राकृतिक स्रोतले भरिपूर्ण छ। साथै, समुद्र किनारनजिक विशाल तेल भण्डार पनि फेला परेको छ। त्यहाँबाट दैनिक करिब ९ लाख ब्यारेल तेल उत्पादन भइरहेको छ।
भेनेजुएलाले स्पेनी उपनिवेशकालदेखि नै एसेक्विबोलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ। तर सन् १८९९ मा बेलायत, रुस र अमेरिकाका मध्यस्थकर्ताले सीमा निर्धारण गर्दै अधिकांश भूभाग गयानाको पक्षमा दिएका थिए।
भेनेजुएलाको दाबीअनुसार सन् १९६६ को जेनेभा सम्झौताले उक्त पुरानो निर्णयलाई अमान्य बनाएको थियो। तर सन् २०१८ मा तेल भण्डार फेला परेपछि गयानाले अदालतमा गएर १८९९ को निर्णयलाई मान्यता दिन माग गरेको थियो।





