हर्मुज जलमार्गमा बढ्दो तनाव: बेलायतद्वारा सुरक्षाका लागि युद्धपोत तैनाथ
प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार
बेलायतले मध्यपूर्व क्षेत्रमा युद्धपोत पठाएको छ। जहाजहरूको सुरक्षाका लागि सञ्चालन गर्न लागिएको सम्भावित अभियानको तयारीस्वरूप युद्धपोत पठाइएको बेलायती रक्षा मन्त्रालयले घोषणा गरेको हो।
रोयल नेभीको युद्धपोत ‘एचएमएस ड्रागन’ लाई हर्मुज जलमार्ग क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षा तथा बारुदी सुरुङ हटाउने अभियानमा सहयोग गर्न पठाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो योजना “पूर्ण रूपमा रक्षात्मक” प्रकृतिको हुनेछ।
रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, युद्धपोतको यो पूर्वतयारी सावधानीपूर्ण योजना अन्तर्गत गरिएको हो। यसले बेलायत र फ्रान्सको संयुक्त नेतृत्वमा बन्ने बहुराष्ट्रिय गठबन्धनको हिस्सा भई आवश्यक परेको खण्डमा होर्मुज जलमार्ग सुरक्षित राख्न मद्दत पुर्याउनेछ।
बेलायत र फ्रान्सले यस जलमार्गको सुरक्षाका लागि अन्य अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूलाई पनि अभियानमा सहभागी हुन आह्वान गरेका छन्। यसैबीच, इरानी अधिकारीहरूले फारसी खाडी क्षेत्रमा अमेरिकी आक्रमणपछि ६ जना बेपत्ता भएको दाबी गरेका छन्। इरानले यसलाई “इरानी माछा मार्ने र मालवाहक जहाजमाथिको अमेरिकी हमला” भनेको छ।
बन्दर–ए–लेन्गेहका गभर्नर फवाद मोरादजादेहका अनुसार, अमेरिकी युद्धविमानले होर्मुज जलमार्गको दक्षिणी भागस्थित ओमानको खासाब बन्दरगाह नजिक हमला गरेका थिए। उक्त घटनामा घाइते भएकाहरूलाई उपचारका लागि खासाबस्थित अस्पताल लगिएको उनले बताए।
यता अमेरिकी सेनाले भने ट्यांकरहरू ओमानको खाडी हुँदै इरानी बन्दरगाह प्रवेश गर्न लागेका बेला उक्त आक्रमण गरिएको बताएको छ। समुद्री निगरानी वेबसाइटहरूका अनुसार, इरान र अमेरिकाले आ-आफ्नो नाकाबन्दी कडा बनाएका कारण हाल हर्मुज जलमार्गमा जहाजहरूको आवतजावत अत्यन्तै कम भएको छ।





