सेवानिवृत्ति योजनामा पहुँच विस्तार गर्न कार्यकारी आदेश जारी गर्दै ट्रम्प, कम आय भएकालाई राहत


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : टम ब्रेनर/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । रोजगारदाताबाट सेवानिवृत्ति योजनामा पहुँच नपाएका कामदारहरूका लागि नयाँ डिजिटल प्लेटफर्ममार्फत सुविधा विस्तार गर्ने उद्धेश्यसहित कार्यकारी आदेश जारी गर्न लागिएको ह्वाइट हाउसका अधिकारीले जनाएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त आदेशले अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीलाई “TrumpIRA.gov” नामक वेबसाइट जनवरी महिनासम्म सञ्चालनमा ल्याउन निर्देशन दिनेछ। सोही समयदेखि कम आय भएका कामदारहरूले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा पारित कानुनअन्तर्गत ‘सेभर’स म्याच’ सुविधा प्राप्त गर्न सुरु गर्नेछन्।

राष्ट्रपति ट्रम्पले यसअघि फेब्रुअरी महिनामा स्टेट अफ द युनियन सम्बोधनका क्रममा सरकारी योगदान योजनाको प्रशंसा गरेका थिए। साथै, इरानसँग जारी युद्ध र उनको ट्यारिफ नीतिले अर्थतन्त्रमा पर्न सक्ने सम्भावित प्रभावबारे चिन्ता भइरहे पनि उनले वाल स्ट्रिटमा देखिएको आर्थिक वृद्धिलाई बारम्बार उल्लेख गर्दै आएका छन्।

२०२२ मा पारित ‘सिक्योर २.०’ कानुनले वार्षिक ३५ हजार अमेरिकी डलरभन्दा कम कमाउने कामदारहरूका लागि रहेको ‘सेभर’स क्रेडिट’लाई परिमार्जन गर्दै ५० प्रतिशतसम्मको “सेभर’स म्याच” व्यवस्था लागू गरेको थियो। यसअन्तर्गत अधिकतम १,००० डलरसम्मको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने व्यवस्था छ।

नयाँ वेबसाइट योजनाअनुसार अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीले पहिलेको ट्रम्प प्रशासनले बालबालिकाका लागि सञ्चालन गरेको खाताजस्तो विशेष वित्तीय संस्थासँग साझेदारी नगर्ने भए पनि प्रस्तावित योजनाहरूको समीक्षा र परीक्षण भने गर्नेछ। .

यसैबीच, २०२५ मा प्यू च्यारिटेबल ट्रस्ट्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेरिकाको निजी क्षेत्रका करिब आधा कामदारहरू अर्थात् झण्डै ५६ मिलियन मानिसले आफ्नो रोजगारमार्फत कुनै पनि प्रकारको सेवानिवृत्ति सुविधा प्राप्त गरिरहेका छैनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com