संघीय एजेन्टको भेषमा ठगी : टेक्सासकी एक युवती पक्राउ, हुनसक्छ २० वर्षसम्म जेल सजाय


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार

अमेरिकाको टेक्सासस्थित ब्राउन्सभिल निवासी २९ वर्षीया मायरा कोलिन्सलाई संघीय एजेन्टको भेषमा भिसा ठगी धन्दा चलाएको आरोपमा पक्राउ गरिएको छ। अमेरिकी अधिकारीहरूले सन् २०२२ देखि २०२५ सम्म विभिन्न संघीय निकायका अधिकारी बनेर सर्वसाधारणलाई ठगेको अभियोगमा उनीविरुद्ध पाँचवटा गम्भीर मुद्दा दर्ता गरेका छन्।

कार्यवाहक अमेरिकी महान्यायाधिवक्ता जोन मार्कका अनुसार कोलिन्सले आफूलाई अध्यागमन अधिकारीका रूपमा चिनाउँदै कम्तीमा चारजना पीडितहरूबाट भिसा प्रक्रिया छिटो गराइदिने बहानामा रकम असुलेकी थिइन्। उनले सरकारी पहुँच भएको भ्रम सिर्जना गर्दै पीडितहरूलाई विश्वास दिलाएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अझ सन् २०२५ मा उनले पुनः अमेरिकी बोर्डर पेट्रोलको एजेन्ट बनेर अर्को ठगी योजना सञ्चालन गरेको पनि खुलेको छ । यस क्रममा उनले एक पीडितलाई बोर्डर पेट्रोलमा जागिर लगाइदिने प्रलोभन देखाउँदै युनिफर्म र ब्यालेस्टिक भेस्ट खरिदका लागि रकम पठाउन लगाएकी थिइन्।

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अनुसार कोलिन्सले कहिल्यै पनि अमेरिकी सरकारको कुनै निकायमा काम गरेकी थिइनन् । उनीसँग भिसा प्रदान गर्ने वा जागिर दिलाउने कुनै आधिकारिक अधिकार थिएन। उनीविरुद्ध ‘वायर फ्रड’ सम्बन्धी दुईवटा र सरकारी अधिकारीको भेष बदलेको तीनवटा आरोपमा मुद्दा चलाइएको हो ।

यदि दोषी ठहर भएमा कोलिन्सलाई ‘वायर फ्रड’ कसुरमा अधिकतम २० वर्षसम्मको जेल सजाय र जालसाजीसम्बन्धी मुद्दामा थप ३ वर्ष कैद हुन सक्छ। साथै, उनलाई २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना समेत हुन सक्ने बताइएको छ।

यस घटनाबारे द हेरिटेज फाउन्डेसनकी विज्ञ लोरा रिजले अध्यागमन कानुनको जटिलता र सरकारी संयन्त्रको छरपस्ट अवस्थाका कारण यस्ता ठगीका घटना हुने गरेको टिप्पणी गरेकी छन्।

मिनेसोटामा सोमाली समुदायसँग जोडिएको अर्को ठूलो ठगी काण्डमा संघीय एजेन्सीहरूले छापा मार्ने क्रममा रहेको बेला टेक्सासको यो घटना सार्वजनिक भएको हो, जसले अमेरिकामा संगठित ठगीका गतिविधि बढ्दो चिन्ता बन्न थालेको संकेत गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com