कार्यस्थलमा शोषण रोक्न क्यालिफोर्नियाको कदम, ‘इमिग्रेसन’सम्बन्धी डर देखाउनेमाथि अंकुश
प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार
फोटो : टिन्गी इन्जुरी ल फर्म
अमेरिकाको क्यालिफोर्निया राज्यमा आप्रवासी कामदारलाई रोजगारदाताको धम्कीबाट जोगाउने उद्देश्यसहित एक महत्त्वपूर्ण विधेयक अगाडि बढाइएको छ। राज्य व्यवस्थापिकाअन्तर्गतको एक समितिले मंगलबार ‘एसेम्बली बिल २४९५’ लाई सर्वसम्मतिले पारित गर्दै अर्को चरणमा पठाएको हो।
प्रस्तावित विधेयकले कार्यस्थलमा हुने अनियमितता वा शोषणविरुद्ध उजुरी गर्नुअघि नै कामदारलाई धम्क्याउने कार्यलाई स्पष्ट रूपमा प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ। यसअघि प्रचलित कानुनले उजुरी दर्ता गरिसकेपछि मात्र आप्रवासी कामदारलाई सुरक्षा दिने प्रावधान राखेको थियो। तर उजुरी गर्नु अघि नै रोजगारदाताबाट आउने चेतावनी वा धम्कीका विरुद्ध ठोस कानुनी सुरक्षा अभाव रहेको थियो।
नयाँ प्रस्तावअनुसार, कार्यस्थलका गलत अभ्यासविरुद्ध बोल्न वा उजुरी गर्ने तयारीमा रहेका कामदारलाई ‘इमिग्रेसन’सम्बन्धी डर देखाएर चुप गराउने प्रयासलाई अपराध मानिनेछ। यसले विशेषगरी कागजातविहीन कामदारलाई लक्षित धम्की रोक्ने अपेक्षा गरिएको छ।
विधेयकका प्रस्तावक तथा एसेम्बली सदस्य एश कालराले संसदीय सुनुवाइका क्रममा बढ्दो आप्रवासी विरोधी बयानबाजीले खराब नियत भएका रोजगारदातालाई थप हौस्याएको बताए। उनका अनुसार यस्ता रोजगारदाताले आप्रवासी कामदारलाई ‘इमिग्रेसन’ कारबाहीको डर देखाउँदै आफ्ना अधिकार माग्नबाट रोक्ने गरेका छन्, जसले श्रमसम्बन्धी कानुनी मापदण्डहरू कमजोर बनाइरहेको छ।
पछिल्लो समय अमेरिकामा आप्रवासी समुदायमाथि बढ्दो निगरानी र धरपकडको वातावरणका कारण कामदारहरूमा असुरक्षा बढेको छ। ‘लीगल एड एट वर्क’ की वरिष्ठ अधिवक्ता हेली म्याक एलिस्टरका अनुसार घर, अस्पताल वा विद्यालय जाँदा समेत धरपकडको डर हुने अवस्थाले कागजातविहीन कामदारहरू आफ्ना अधिकारका लागि बोल्न हिच्किचाइरहेका छन्। यसले ज्याला चोरी, असुरक्षित कार्यस्थल र भेदभाव जस्ता समस्या झनै बढाएको उनको भनाइ छ।
तथ्याङ्कअनुसार क्यालिफोर्नियाको कुल जनसङ्ख्याको २७ दशमलव ३ प्रतिशत हिस्सा विदेशमा जन्मिएका आप्रवासीहरूको छ भने राज्यको श्रम शक्तिको ३२ दशमलव ७ प्रतिशत हिस्सा उनीहरूले ओगटेका छन्। ‘इन्स्टिच्युट अन ट्याक्सेसन एन्ड इकोनोमिक पोलिसी’ को २०२४ को अध्ययनले कागजातविहीन आप्रवासीहरूले सन् २०२२ मा मात्रै अमेरिकामा ९६ दशमलव ७ अर्ब डलर कर तिरेको देखाएको छ, जसमा क्यालिफोर्नियाको हिस्सा ८ दशमलव ५ अर्ब डलर रहेको छ।
यस विधेयकले ठूलो आर्थिक योगदान पुर्याउने आप्रवासी समुदायलाई कार्यस्थलमा सुरक्षित र सम्मानजनक वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





