अमेरिकामा आंशिक शटडाउनको झट्का : ११०० बढी टीएसए अधिकारीले छाडे जागिर, उडान सुरक्षामा चिन्ता


प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार

अमेरिकाको डलासस्थित लभ फिल्ड विमानस्थलमा सुरक्षा जाँच क्षेत्रतर्फ जाँदै गरेका ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन (टीएसए)का एक एजेन्ट । तस्वीर : एलएम ओटेरो/एपी-रासस 

अमेरिकामा जारी आंशिक शटडाउनका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)अन्तर्गतको ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन (टीएसए)मा कार्यरत १,११० भन्दा बढी सुरक्षा अधिकारीहरूले जागिर छाडेका छन्। फेब्रुअरी १४ देखि सुरु भएको संघीय बजेट गतिरोध लम्बिँदै जाँदा कर्मचारी पलायन तीव्र भएको हो।

डीएचएसका अनुसार गत अप्रिल २० सम्म ८३० जना अधिकारीले मात्र राजीनामा दिएका थिए। तर त्यसपछिको एक साताभित्रै थप सयौँ कर्मचारीले सेवा त्यागेपछि कुल संख्या १,१०० नाघेको हो। यसले अमेरिकी विमानस्थलहरूको सुरक्षा संरचनामा दबाब बढाएको छ।

यो अवस्थाले आगामी जुन महिनादेखि सुरु हुने फिफा विश्वकपको सुरक्षा व्यवस्थापनमा समेत गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ। विश्वकपका कारण अन्तर्राष्ट्रिय यात्रुको चाप बढ्ने अपेक्षा गरिँदै गर्दा सुरक्षाकर्मीको अभावले व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ।

टीएसएका अनुसार नयाँ सुरक्षाकर्मीलाई पूर्ण रूपमा काममा खटाउन कम्तीमा ४ देखि ६ महिनासम्मको तालिम आवश्यक पर्छ। ह्वाइट हाउसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्च अन्त्यसम्म करिब ५० हजार टीएसए अधिकारी कार्यरत रहे पनि पछिल्ला राजीनामाले हवाई यात्रालाई थप असहज बनाउने जोखिम बढेको छ।

यसैबीच, डीएचएस सेक्रेटरी मार्कवेन मुलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत आपत्कालीन कोष प्रयोग गरी कर्मचारीलाई तलब उपलब्ध गराउने प्रयास भइरहेको बताएका छन्। तर, उक्त कोष पनि मे महिनाको पहिलो सातासम्ममा सकिने चेतावनी दिइएको छ।

यदि छिट्टै बजेट पारित हुन नसकेमा मेपछि विमानस्थलका सुरक्षा जाँच लाइनहरू पुनः लामो र अस्तव्यस्त हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

राजनीतिक तहमा भने अझै सहमति जुट्न सकेको छैन। प्रतिनिधिसभाका सभामुख माइक जोनसनले सिनेटबाट पारित विधेयकमा संशोधन आवश्यक रहेको बताएका छन्, जसले संघीय निकायहरू पूर्ण रूपमा सञ्चालनमा आउन अझै ढिलाइ हुने संकेत गरेको छ।

गत वर्षको शटडाउनको तुलनामा यसपटक कर्मचारी बाहिरिने दर २५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ, जसले दीर्घकालीन रूपमा अमेरिकी विमानस्थल सुरक्षामा चुनौती थपिने संकेत दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com