२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा ‘डिसवासर’को अभाव, वार्षिक ७० हजार डलरसम्म तलब दिँदा पनि पाइँदैनन् कामदार 

अमेरिकाभरका रेस्टुरेन्ट उद्योग अहिले गम्भीर श्रम संकटबाट गुज्रिरहेको छ । व्यवसायको मेरुदण्ड मानिने तर प्राय: ओझेलमा पर्ने ‘डिसवासर’ (भाँडा माझ्ने कामदार)को चरम अभावले सञ्चालकहरूलाई दबाबमा पारेको छ । अध्यागमन नीतिमा आएको कडाइ र युवा पुस्तामा शारीरिक श्रमप्रति घट्दो आकर्षणका कारण समस्या झन् गहिरिँदै गएको हो ।

नेशनल रेस्टुरेन्ट एशोसिएसनका अनुसार अमेरिकाको रेस्टुरेन्ट तथा बार क्षेत्रमा करिब १ करोड २० लाख मानिस कार्यरत छन् । तर, ‘ब्याक-अफ-हाउस’ भनिने भान्साभित्रका काम (विशेषतः डिसवासिङ जस्ता शारीरिक रूपमा गाह्रो र तुलनात्मक रूपमा कम पारिश्रमिक हुने काम) का लागि कामदार पाउनै मुस्किल भइरहेको हो । हाल अमेरिकामा एक डिसवासरको औसत वार्षिक आम्दानी करिब ३१,६५० डलर मात्र रहेको छ, जुन यस क्षेत्रमै न्यून तलबमध्ये पर्छ ।

यस अभावको प्रमुख कारणमध्ये अध्यागमनमा गरिएको कडाइलाई लिइएको छ । तथ्याङ्कअनुसार अमेरिकाका रेस्टुरेन्टहरूमा काम गर्ने कुल जनशक्तिमध्ये करिब २० प्रतिशत विदेशी मूलका छन् । तर, पछिल्ला वर्षहरूमा कडा अध्यागमन नीतिका कारण यस्ता कामदारहरूमा असुरक्षाको भावना बढेको छ । परिणामतः विदेशी कामदारको आपूर्ति घट्दै गएको छ भने न्यून-दक्ष कामका लागि नयाँ भिसा कार्यक्रम नआउँदा श्रम अभाव अझ तीव्र बनेको छ ।

अर्कोतर्फ, पहिले १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूले यस्ता सुरुवाती कामहरू सम्हाल्ने गर्थे । तर, अहिलेको पुस्ता शारीरिक रूपमा गाह्रो हुने कामभन्दा लचिलो, सफा र प्रविधिसँग जोडिएका रोजगारीतर्फ आकर्षित हुन थालेको देखिन्छ । युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाका प्राध्यापक केभिन मर्फीका अनुसार नयाँ पुस्ता यस्तो श्रमप्रधान काममा दीर्घकालीन रूपमा संलग्न हुन इच्छुक देखिँदैन ।

यो संकटसँग जुध्न रेस्टुरेन्ट सञ्चालकहरूले विभिन्न उपाय अपनाउन थालेका छन् । कतिपयले सित्तैमा खाना, बोनस तथा लचिलो कार्यतालिका जस्ता सुविधा थपेका छन् । शिकागोस्थित जोन्स फूड एण्ड वाइनले सेवा शुल्कको हिस्सा बाँडेर डिसवासरको वार्षिक आम्दानी करिब ७० हजार डलरसम्म पुर्‍याउने अभ्यास सुरु गरेको छ । यस्तै, केही व्यवसायहरूले श्रम अभाव पूर्ति गर्न रोबोटिक डिशवाशिङ मेसिनको प्रयोग समेत बढाएका छन् ।

यद्यपि, यी उपायहरू सबै रेस्टुरेन्टका लागि सम्भव छैनन् । साना तथा मध्यम व्यवसायहरू अझै पनि श्रम अभावको मारमा परिरहेका छन् । यसै कारण अमेरिकाको रेस्टुरेन्ट उद्योगमा देखिएको ‘डिसवासर संकट’ तत्काल समाधान हुने संकेत नदेखिएको विज्ञहरू बताउँछन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।