कोरियाली आकाशमा अमेरिकी परमाणु बमवर्षक


प्रकाशित मिति : भाद्र २८, २०७३ मंगलबार

अमेरिकी परमाणु बम वर्षक विमान अचानक आकाशमा देखिएका छन् । उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको हो । परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको भन्दै अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका छन् । उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान उडेका हुन् ।

मंगलबार दक्षिण कोरियाली आकाशमा ‘सुपरसोनिक’ बम वर्षक विमान देखिएको हो । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले केही समय यता परमाणु कार्यक्रमलाई बढावा दिइरहेको परिस्थितिमा अमेरिकाले दक्षिण कोरियालाई ढाडस दिन तथा उत्तर कोरियालाई हतोत्साही तुल्याउन रणनीतिक रुपमा बम वर्षक विमान उडाएको हो ।

‘सुपरसोनिक बी–१’ विमान ओसान बेस क्याम्पमाथि उडेको देखिएको हो । सो विमानलाई अमेरिकी र दक्षिण कोरियाली लडाकु विमानले आकाशमा सुरक्षा प्रदान गरेका थिए । अमेरिकाले सुपरसोनिकको उडानका बारेमा औपचारिक रुपमा केही बताएको छैन । उत्तर कोरियाले पनि यसबारे औपचारिक रुपमा प्रतिक्रिया जनाइसकेको छैन ।

उत्तर कोरियाले परमाणु परीक्षणको शृङ्खला अन्तर्गत पाँचौ परमाणु परीक्षण गर्ने तयारी गरिराखेका बेला अमेरिकाले चालेको कदमलाई अन्तराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ । गत शुक्रबार मात्र उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख आणविक परीक्षण केन्द्रबाट गरेको पारमाणविक शक्ति परीक्षले ५.३ म्याग्निच्यूडको कृत्रिम भूकम्प महसुस भएको थियो । उत्तर कोरियाले यस अघि सन् २००६, ००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ ।

समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाकोे परीक्षणलाई निरुत्साहित गर्न अमेरिकाले रणनीतिक रुपमा दक्षिण कोरियामाथि बम वर्षक विमान उडाएको बीबीसीले जनाएको छ ।  उत्तर कोरियाद्वारा गरिएको पछिल्लो परमाणु परीक्षणलाई अमेरिका, दक्षिण कोरिया, जापान लगायतका मुलुकले गम्भीर रुपमा लिदै विरोध जनाएका छन्।

यसअघि दक्षिण कोरियाले उत्तर कोरियाको त्यस्तो गतिविधि जारी रहेमा त्यसको जवाफ दिन आफू तयार रहेको बताएको थियो। दक्षिण कोरियाले उत्तर कोरियाको त्यस्तो गतिविधि जारी रहेमा त्यसको जवाफ दिन आफू तयार रहेको बताएको थियो । अमेरिकाले पनि उत्तर कोरियाका विरुद्ध थप प्रतिबन्ध वा कारवाहीका लागि बिचार गर्ने जनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com