स्पेनमा ‘रेजिडेन्स परमिट’ पाउने बाटो खुल्यो, ८ लाख आप्रवासीलाई राहत  


प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार

स्पेन सरकारले देशमा बिना अनुमति बसोबास गरिरहेका लाखौँ विदेशी नागरिकलाई कानुनी दायरामा ल्याउने महत्वाकांक्षी प्रक्रिया सोमबारदेखि औपचारिक रूपमा सुरु गरेको छ। गत जनवरीमा घोषणा गरिएको र यसै महिना अन्तिम रूप दिइएको ‘आममाफी’ कार्यक्रम अन्तर्गत करिब ५ लाखदेखि ८ लाखसम्म आप्रवासी लाभान्वित हुने अनुमान गरिएको छ।

नयाँ व्यवस्थाअनुसार, स्पेनमा कम्तीमा पाँच महिनादेखि निरन्तर बसोबास गरिरहेका र कुनै आपराधिक रेकर्ड नभएका विदेशी नागरिकले एक वर्षको नवीकरणीय आवास अनुमतिका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद आगामी जुन महिनाको अन्त्यसम्म तोकिएको छ। छोटो अवधिमा ठूलो सङ्ख्यामा आवेदन प्रक्रिया टुंग्याउनुपर्ने भएकाले प्रशासनिक दबाब बढ्ने र व्यवस्थापनमा चुनौती देखिने सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

सरकारले आवेदन प्रक्रियालाई सहज बनाउन देशभरका ३७० भन्दा बढी हुलाक कार्यालय, ६० वटा सामाजिक सुरक्षा कार्यालय तथा विभिन्न आप्रवासन कार्यालयहरूबाट सेवा सुरु गरेको जनाएको छ। अनलाइन आवेदन प्रणाली भने गत बिहीबारदेखि नै खुला गरिएको थियो। राजधानी म्याड्रिड र बार्सिलोनाका हुलाक कार्यालयहरूमा सोमबार बिहानैदेखि आप्रवासीहरूको भीड देखिएको छ। आवेदन प्रक्रिया सरल भए पनि लामो समय पालो कुर्नुपरेको गुनासो सेवाग्राहीहरूले गरेका छन्।

प्रधानमन्त्री पेड्रो सान्चेजले यस कदमलाई ‘न्याय र आवश्यकताको निर्णय’ भन्दै बचाउ गरेका छन्। उनका अनुसार तीव्र गतिमा बढिरहेको स्पेनी अर्थतन्त्रलाई टिकाइराख्न र सामाजिक सुरक्षा कोष सुदृढ बनाउन थप श्रमिक आवश्यक छ। युरोपका धेरै देशहरूले आप्रवासन नीतिमा कडाइ गरिरहेका बेला स्पेनको यो निर्णयलाई तुलनात्मक रूपमा उदार र आर्थिक दृष्टिले व्यावहारिक कदमका रूपमा हेरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com