विदेशी विद्यार्थीका लागि क्यानडा झन् आकर्षक : नयाँ आप्रवासन योजना सार्वजनिक


प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार

क्यानडा पछिल्ला वर्षहरूमा विश्वभरका विद्यार्थीहरूका लागि प्रमुख आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। उच्चस्तरीय शिक्षा, बहुसांस्कृतिक वातावरण र अध्ययनपछि स्थायी बसोबासको स्पष्ट अवसरका कारण हरेक वर्ष लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थी क्यानाडा जाने गरेका छन्।

सन् २०२६ का लागि क्यानडा सरकारले आफ्नो आप्रवासन नीतिमा केही महत्त्वपूर्ण परिमार्जन गरेको छ। दक्ष जनशक्ति भित्र्याउने उद्देश्यसहित ल्याइएको नयाँ व्यवस्थाले स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन गर्न चाहने विद्यार्थीहरूमा थप उत्साह देखिएको छ। अध्यागमन स्तर योजना (२०२६–२०२८) अनुसार सरकारले पारदर्शी र व्यवस्थित प्रणालीमार्फत विदेशी प्रतिभालाई प्राथमिकता दिने नीति अघि सारेको छ।

क्यानडाको ‘पोस्ट–ग्रेजुएसन वर्क परमिट’ कार्यक्रमलाई विश्वकै उदार कार्यक्रममध्ये एक मानिन्छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि अधिकतम तीन वर्षसम्म क्यानाडामै बसेर काम गर्ने अवसर पाउँछन्। प्राप्त कार्य अनुभवका आधारमा ‘एक्सप्रेस इन्ट्री’ प्रणाली वा ‘प्रान्तीय मनोनयन कार्यक्रम (पीएनपी)’ मार्फत स्थायी बासिन्दा (पीआर) बन्ने प्रक्रिया तुलनात्मक रूपमा सहज र अनुमानयोग्य मानिन्छ।

शैक्षिक गुणस्तर मात्र होइन, क्यानडाको सुरक्षित जीवनशैली र समावेशी समाज पनि विद्यार्थी आकर्षणका मुख्य कारण हुन्। टोरन्टो, भ्यानकुभर, मोन्ट्रियल र क्यालगरी जस्ता प्रमुख सहरहरूमा बहुसांस्कृतिक वातावरण रहेको छ। यी सहरहरूमा नेपाली समुदाय पनि सक्रिय रहेको हुँदा नयाँ विद्यार्थीहरूलाई घुलमिल हुन सहज हुने देखिन्छ। साथै, अंग्रेजी र फ्रान्सेली दुवै भाषा सिक्ने अवसरले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय रोजगारी बजारमा प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ।

आर्थिक पक्षतर्फ हेर्दा, क्यानडामा अध्ययन खर्च प्रान्त, कलेज तथा विषयअनुसार फरक–फरक हुन्छ। सामान्यतया स्नातक तहका लागि वार्षिक २० हजारदेखि ४० हजार क्यानेडियन डलरसम्म खर्च लाग्न सक्छ। तर, क्यानडा सरकार र विभिन्न विश्वविद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति, अनुदान तथा ‘पार्ट–टाइम’ काम गर्ने सुविधाले विद्यार्थीहरूको आर्थिक भार कम गर्न सहयोग पुर्‍याउने गरेको छ।

हालका वर्षहरूमा बसोबास खर्च बढ्दै गएपछि विद्यार्थीहरू सस्तो विकल्पको खोजीमा साना सहरतर्फ आकर्षित हुन थालेका छन्। ह्यालिफ्याक्स र विनिपेग जस्ता सहरहरूमा तुलनात्मक रूपमा कम खर्चमा बस्न सकिने भएकाले यस्ता स्थानहरूको लोकप्रियता बढ्दै गएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com