सम्झौतामा आउन इरानलाई अमेरिकाको ४८ घण्टाको अल्टिमेटम:  इरानको आक्रामक प्रतिक्रिया


प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार

फोटो : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नरक बनाइदिने’ चेतावनी दिएका छन्। अमेरिकासँग सम्झौता नगरे इरानको अवस्था भयावह बनाइदिने उनले बताएका हुन्। अमेरिकी चेतावनीपछि इरानले पनि आक्रामक शैलीमा प्रतिक्रिया दिएको छ।

इरानका एक सैन्य प्रवक्ताले यदि अमेरिका र इजरायलले तनाव बढाइरहे सम्पूर्ण क्षेत्र नै “नरक” बन्न सक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत पुनः चेतावनी दिँदै ४८ घण्टाभित्र सम्झौता नगरे वा ‘हर्मुज जलमार्ग’ नखोले कडा कारबाही गर्ने बताएका छन्।

इरानले खाडी मुलुकहरू, इराक र इजरायलतर्फ पुनः मिसाइल आक्रमण गरेको छ। केही मिसाइलहरू आकाशमै ध्वस्त पारिए पनि तिनका टुक्राहरू खस्दा विभिन्न स्थानमा क्षति पुगेको बताइएको छ।

यसैबीच, दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ– १५ लडाकु विमानका हराइरहेका एक चालक दलका सदस्यको खोजी जारी छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार पाइलटको भने सुरक्षित उद्धार गरिएको छ। इरानले सर्वसाधारणलाई अपिल गर्दै हराइरहेका अमेरिकी सदस्यलाई “जिउँदै” फेला पार्न आग्रह गरेको छ र फेला पार्ने व्यक्तिलाई इनाम दिने घोषणा समेत गरेको छ।

उद्धार अभियानमा खटिएको अमेरिकी विमान पनि आक्रमणमा परी क्षतिग्रस्त भएको थियो, तर त्यसका पाइलटलाई पनि सुरक्षित रूपमा निकालिएको छ।

यसअघि मार्च २७ मा ट्रम्पले इरानलाई वार्तामा ल्याउन ऊर्जा केन्द्रहरूमाथिको आक्रमण १० दिनका लागि रोक्ने घोषणा गरेका थिए। हाल अमेरिका र इजरायलले इरानका सैन्य, ऊर्जा र औद्योगिक क्षेत्रमा आक्रमण जारी राखेका छन् भने इरानले पनि त्यसको जवाफ मिसाइल प्रहारबाटै दिइरहेको छ।

इरानको दक्षिण-पश्चिम क्षेत्रमा रहेको एक ठूलो पेट्रोकेमिकल केन्द्रमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु र १७० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, इरानको एकमात्र सञ्चालनमा रहेको ‘बुशेहर आणविक विद्युत् केन्द्र’ आसपासको क्षेत्रमा पनि पुनः आक्रमण भएको छ। इरानका अनुसार उक्त प्लान्टको मुख्य संरचना सुरक्षित छ र यसको सञ्चालनमा कुनै असर परेको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com